प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको अस्पतालले जनाएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर बिहान साढे १० बजे प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अपडेट दिएको हो।
‘हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ। सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र अहिले उहाँ राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
सेन्टरका चिकित्सक डाक्टर अरूण सायमीले प्रधानमन्त्री ओलीले कुराकानी गरे पनि परिवारका सदस्य र नेताहरूसँग नभेटेको बताए।
‘भित्र प्रधानमन्त्री कुरा गर्नुहुन्छ। हामी प्रधानमन्त्रीको कुरा बाहिर आएर उहाँहरूलाई भनिदिन्छौं,’ उनले भने।
प्रधानमन्त्रीलाई भेन्टिलेटरबाट हटाएपछि बुधबार बिहान प्रधानमन्त्री पत्नी राधिका शाक्य उनलाई भेट्न गएकी थिइन्। नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि अस्पताल पुगेका थिए।
सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठ प्रधानमन्त्रीको आरामका लागि केही दिन अस्पतालमै राखिने बताए।
सोमबार रातिदेखि एपेन्डिस दुखेपछि मंगलबार बिहानै प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा डाक्टरहरूले अपरेसन गरेर एपेन्डिस काटेर फालिदिए। र एपेन्डिसका कारण पेटमा जमेको पिप र अन्य विकार सफा गरे।
शल्यक्रिया गर्दासम्म प्रधानमन्त्रीको पेटमा ठूलो मात्रामा संक्रमण भइसकेको थियो। पेटको त्यो संक्रमण रगतमा पुगेको भए त्यसले स्वास्थ्यमा थप जटिलटा ल्याउँथ्यो। संक्रमण थप फैलिन नदिन त्यसको उपचार गर्न डाक्टरहरूले मंगलबारदेखि नै एन्टिबायोटिक प्रयोग गरेका थिए।
‘प्रधानमन्त्रीमा त्यो संक्रमणले पारेको असर पनि आज हटेको छ,’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भने,‘अहिले उहाँको अवस्था अपरेशन गरेका अरू सामान्य बिरामीको जस्तै हो।’
प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो। शल्यक्रियापछि केहीबेरमा होस आए पनि प्रधानमन्त्री बोल्न सकेका थिएनन्। उनले मंगलबार दिउँसोदेखि नै आँखा हेरेर इशारा भने गरेका थिए।