प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार बिहानदेखि सुधार आएको छ।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ र उनी बोल्न थालेका छन्। ‘प्रधानमन्त्री अहिले गफ गर्न थाल्नुभएको छ। मुटुको चाल पनि सामान्य छ,’ ती चिकित्सकले भने।
सोमबार रातिदेखि एपेन्डिस दुखेपछि मंगलबार बिहानै प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा डाक्टरहरूले अपरेसन गरेर एपेन्डिस काटेर फालिदिए। र एपेन्डिसका कारण पेटमा जमेको पिप र अन्य विकार सफा गरे।
शल्यक्रिया गर्दासम्म प्रधानमन्त्रीको पेटमा ठूलो मात्रामा संक्रमण भइसकेको थियो। पेटको त्यो संक्रमण रगतमा पुगेको भए त्यसले स्वास्थ्यमा थप जटिलटा ल्याउँथ्यो। संक्रमण थप फैलिन नदिन त्यसको उपचार गर्न डाक्टरहरूले मंगलबारदेखि नै एन्टिबायोटिक प्रयोग गरेका थिए।
‘प्रधानमन्त्रीमा त्यो संक्रमणले पारेको असर पनि आज हटेको छ,’ ती चिकित्सकले भने,‘अहिले उहाँको अवस्था अपरेशन गरेका अरू सामान्य बिरामीको जस्तै हो।’
प्रधानमन्त्रीलाई हिजैदेखि भेल्टिलेटर प्रयोग गरिएको र मुखमा माक्स लगाइएको थियो। शल्यक्रियापछि केहीबेरमा होस आए पनि प्रधानमन्त्री बोल्न सकेका थिएनन्। उनले मंगलबार दिउँसोदेखि नै आँखा हेरेर इशारा भने गरेका थिए।
‘आज बिहान भने प्रधानमन्त्री बोल्नुभयो। स्वास्थ्य सुधार भएपछि भेन्टिलेटर हटाइएको छ,’ ती चिकित्सक भने।
प्रधानमन्त्रीलाई डाक्टरहरूको निरन्तर निगरानीमा राखिएको छ।
स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई भेट्न परिवारका सदस्य र पार्टीका नेता पनि बुधबार अस्पताल पुगेका छन्। प्रधानमन्त्री पत्नी राधिका शाक्य बिहान सवा १० बजेतिर प्रधानमन्त्रीलाई भेटेर फर्किएकी छन्। नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि प्रधानमन्त्रीलाई भेटेका छन्।