प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका अस्पताल पुगेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर सेन्टरमा पुगेका हुन्।
सोमबार राति पेट दुखेपछि प्रधानमन्त्रीलाई बिहान अस्पताल लगिएको स्रोतले बतायो।
यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो।
गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।
अस्पतालमै दुई पटक डायलासिस भएको थियो भने त्यसपछि पनि दुई पटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौलाको प्रत्यारोपण भएको थियो।