समाजवादी पार्टी नेपालले सरकारसँग वार्ता गर्न संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा वार्ता समिति बनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग परामर्श नगरी केही दिनअघि मन्त्रिपरिषद पुनर्गठन गरेपछिको अवस्था र सरकारमा सहभागी हुँदा गरेका दुई बुँदाबारे वार्ता गर्न समिति बनाइएको हो।
वार्ता समितिमा भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ छन्।
समाजवादी पार्टीको शनिबार साँझ बसेको पदाधिकारी बैठकले संविधान संशोधनलगायत विभिन्न विषयमा सरकारसँग वार्ता गर्न समिति बनाएको हो।
पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार वार्ता समितिले असहमत भएका बिषय र संविधान संशोधनलगायत दुई बुँदाबारे सरकार तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग वार्ता गर्नेछ।
सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका केन्द्रीय समिति अध्यक्ष यादव भारत भएका बेला प्रधानमन्त्री ओलीले उनको मन्त्रालय हेरफेर गरेका थिए। यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
आफूहरूलाई जानकारीबिनै मन्त्रालय हेरफेर गरेपछि समाजवादीभित्र सरकार छाड्न दबाब छ। सरकारबारे निर्णय लिन शनिबार पदाधिकारी बैठक बसे पनि एकपटक वार्ता गर्ने निर्णय भएको हो।
सरकार छाड्ने/नछाड्ने बिषयमा पार्टीभित्र कुनै मतभेद नरहेको पनि पाण्डेले बताए। ‘दुई अध्यक्षहरू एकमत हुनुहुन्छ,’ उनले भने, ‘सरकारमा बस्ने वा छाड्ने फरकफरक लाइन छ भन्ने हल्ला मात्र हुन्।’
वार्ताबाटै समस्या समाधानका लागि पार्टीले चाहेको पनि उनले बताए। ‘वार्ताबाट भएन भने सडक त छँदैछ,’ उनले सेतोपाटीसँग भने।
सरकारमा रहने वा नरहने भन्ने प्राविधिक कुरा मात्रै भएको भन्दै पाण्डेले अन्य मुद्दा मुख्य हुने जानकारी दिए।