प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा सत्ता साझेदार संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई ‘अपमानजनक’ व्यवहार गरेका छन्।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादव विदेशमा रहेकै बेला मन्त्रालय हेरफेर गरिदिएका हुन्। यादवलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्रालयमा रहेका भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ। यादव हाल भारत भ्रमणमा रहेका छन्।
स्वास्थ्य ठूलो बजेट र देशभरि सञ्जाल भएको मन्त्रालय हो भने कानुन मन्त्रालय सानो बजेट भएको मन्त्रालय हो। मन्त्री यादवले सहरी विकास र स्वास्थ्य मन्त्रालय पार्टीले पाउँदा आफैँले स्वास्थ्य मन्त्रालय रोजेका थिए।
समाजवादी पार्टीका महासचिव रामसहाय यादवले मन्त्रालय हेरफेरबारे पार्टी नेताहरूलाई जानकारी नभएको बताए।
‘मैले फेसबुकमा समाचार हेरेर थाहा पाएँ’, यादवले सेतोपाटीसँग भने, 'म अचम्ममा परेको छु। मन्त्रालय पनि साटफेर भएछ। राज्यमन्त्री पनि हटाइएछ। अहिले मैले पार्टीको धारणा त भन्न सक्दिनँ तर यो निर्णयबारे पार्टीलाई थाहा छैन।'
पछिल्लो समय मन्त्री यादवसँग प्रधानमन्त्री ओली खुसी थिएनन्। अधिकांश समय विदेश भ्रमणमा बिताएको तथा मन्त्रालयको काममा ध्यान नदिएको आरोप यादवमाथि थियो।
प्रधानमन्त्री ओलीले सरकारमै बसेर सरकारको विरोध गरेको भन्दै यादवसँग असन्तुष्टि पोखेका थिए।
त्यसो त समाजवादी पार्टीले सरकारमा रहने वा नरहने भन्ने विषयमा यसअघि पार्टीमा छलफल गरे पनि छाड्ने निर्णय गर्न सकेको थिएन।
सरकारमै रहेका समाजवादी पार्टीका मन्त्री मोहम्मद इश्तियाक राईले पनि मन्त्रालय हेरफेरका विषयमा आफ्नो अध्यक्ष र प्रधानमन्त्रीसँग कुनै कुरा नभएको बताए।
‘अध्यक्षज्यू नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेर दिल्ली जानु भएको थियो’, राईले भने, ‘मन्त्रालय हेरफेरबारे अध्यक्षसँग कुराकानी भए/ नभएको जानकारी छैन।‘
मन्त्री राईको मन्त्रालय भने हेरफेर भएको छैन।
त्यस्तै प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचारत समाजवादी पार्टीकै राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि हटाइदिएका छन्। यादव स्वास्थ्य राज्यमन्त्री थिए।
समाजवादी पार्टीका अर्का एक नेताले भने पार्टीले सरकारमै रहने निर्णय गरेका बेला प्रधानमन्त्रीले आकस्मिक निर्णय लिएको बताए।
'अध्यक्षज्यू कानुनमा पनि चाख राख्नुहुन्छ, विकासे मन्त्रालय भन्दा उहाँलाई कानुन नै ठीक छ। धन्न विनाविभागीय बनाइदिनु भएनछ।'