प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ बालुवाटारमा राखेको मन्त्रिपरिषद बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव सहभागी भएनन्।
आफू मन्त्रीबाट हट्दैछु भन्ने थाहा पाएकाले मन्त्रिपरिषद बैठकमा सहभागी नभएको यादवले सेतोपाटीलाई बताए।
‘मलाईअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाईं सरकारबाट हट्दै हुनुहुन्छ भन्नुभयो। त्यही भएर म बालुवाटार नगएको हो,’ यादवले भने,‘मन्त्रिपरिषद बैठकमा गएपछि भनाभन होला, आफूलाई चित्त नबुझेको कुरा आए बाझाबाझ समेत होला, अनि मन्त्रीबाट हट्ने भनेपछि बाझ्यो भन्छन् भनेर मन्त्रिपरिषद बैठकमा नगएको हो।’
प्रधानमन्त्री ओलीले आफ्नो काममा समेत हस्तक्षेप गर्ने गरेको यादवले बताए।
‘मैले प्रधानमन्त्रीलाई पहिलादेखि नै भनेको थिए-तपाईंलाई अप्ठेरो छ भने हटाउन सक्नुहुन्छ। उहाँले मेरो काममा हस्तक्षेप गर्न खोज्दा मैले मानिनँ,’ यादवले भने,‘विधि र प्रक्रिया मिचेर काम गर्दिनँ भनेकै हो। उहाँले यो प्रधानमन्त्री प्रणालीमा प्रधानमन्त्रीले भनेको मान्नुपर्छ भन्नुहुन्थ्यो। उहाँको कार्यशैली नै ठीक भएन।’
जनतामा निर्वाचनका बेलामा आफूले कुनै पनि पदबाट राजीनामा नदिने बाचा गरेकाले मात्रै मन्त्रीबाट राजीनामा नदिएको यादवले बताए।
‘मलाई त निर्वाचनका बेलामा तपाईं चित्त नबुझ्नसाथ राजीनामा दिनुहुन्छ। कसरी मत दिने भनेका थिए,’ उनले भने,‘जनतासँग बाचा गरेकै कराणले राजीनामा नदिएको हो।’
यादवले गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पनि २०६४ सालमा राजीनामा दिएका थिए। उनी त्यतिबेला वन मन्त्री थिए। कोइराला र यादवबीच त्यो बेलामा झगडा परेको थियो। २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएको बेलामा पनि यादवले राजीनामा दिएका थिए। त्यतिबेला तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमसँग झगडा परेको थियो। उनी त्यो समयमा भूमि सुधार मन्त्री थिए।