बिहीवार दिउँसो दाङको सबैभन्दा पश्चिम सीमानामा रहेको बबई गाउँपालिका वडा नं. ६ पञ्चकुलेको कौशिलापुर पुग्दा ३० वर्षीया मिना केसी गाईको गोवरले आँगन लिप्दै थिइन्।
नजिकै नेपाली काँग्रेसको चुनावी सभा थियो। केसीले आँगन लिप्दै नेताको भाषण सुनिरहेकी थिइन्। उपनिर्वाचन नजिकिँदै गर्दा गाउँ घरमा फेरि राजनीतिक दलका नेताहरु भोट माग्न आएका छन्।
चहलपहल बढ्दा चुनावको उत्साह थपिएको उनले बताइन्। तैपनि उनमा गुनासो छ।
‘जितेपछि फर्केर आउँदैनन्, गरेका बाचा पुरा गर्दैनन्’ केसीले थपिन् ‘भाषणमा जुनता झारिदिनेजस्तो कुरा गर्छन्, अवसर आए आफ्नालाई मात्रै दिन्छन्।’
दक्षिणमा बाँके, पश्चिममा सुर्खेत र उत्तरमा सल्यान जिल्लासँग सीमाना जोडिएको बबई गाउँपालिकाका स्थानीय सञ्चार, शिक्षा, विजुलीबत्ती सिचाईं खानेपानी, स्वास्थ्यजस्ता पूर्वाधारबाट समेत वञ्चित छन्।
बबईबाट सोझै बाँके र सल्यान जोड्ने सडक खण्ड बनेपछि स्थानीयलाई सडकको पहुँच पुग्नेछ। तुलसीपुर–सुर्खेत सडक खण्ड अप्ठेरो भएकाले त्यति चल्तीमा छैन।
‘एउटा अस्पताल छैन, गतिलो क्याम्पस छैन,’ केसीले गुनासो गरिन् ‘नेताहरुले भनेअनुसार काम गरेनन्, त्यसैले यो ठाउँ विकटजस्तै छ।’
तुलसीपुरदेखि पश्चिम झन्डै १७ किलोमिटरको दुरीमा पञ्चकुले पर्छ। त्यसको झन्डै ९ किलोमिटर जति थप पश्चिम पुगेपछि बबई ३ बग्रेलतारा भन्ने ठाउँमा पुग्दा किसान खेतमा काम गरिरहेका थिए।
कोही काटेको धान बोकेर खल्यानसम्म ल्याउन खटिएको देखिन्थे भने कोही खेतमै निर्मित खल्यानमा धमाधमधान झाँट्न (चुट्न) व्यस्त थिए। सबै काममा मसलको प्रयोग भइरहेको थियो।
पूर्वी दाङमा पछिल्लो समय खेत जोत्न, धान काट्न र ओसाउन औजारको व्यापक प्रयोग भइसकेको छ। तर पश्चिम दाङमा भने सबै काममा शारीरिक बल प्रयोग गर्नुपर्ने बाध्यता छ।
दलका प्रतिनिधि र उम्मेदवारहरु त्यही खेतको बाटो भएर ओहोर दोहार गरिरहन्छन्। कति त्यही पुगेर भोट माग्ने गर्छन्। त्यसैले किसानका समस्या उम्मेदवारलाई थाहा नभएको होइन।
खेतमा काम गरिरहेका ४४ वर्षीय हरिवहादुर वलीसँग उपनिर्वाचनको चहलपहलबारे कुरा गर्यौं। उपनिर्वाचन हुने दिन मंसिर १४ अघि नै सबै धान भित्र्याउने लक्ष्य रहेको उनले बताए। ‘वर्ष दिनको खेती त भित्र्याउनै पर्यो, धान भित्र्याएपछि राम्रो उम्मेदवार चुन्न सल्लाह गर्ने छौं’ उनले भने।
अर्को खल्यानमा बबई ४ निवासी ३२ बर्षीया मीना नेपाली पनि धान झाँट्न तल्लीन थिइन्। अरुको खेतमा ज्यालादारी काम गर्न आएकी उनले पारिश्रमिकवापत दिनभरको ५ पाथी धान ज्याला बापत पाउने गरेको बताइन्।
‘लोग्ने मानिसलाई दैनिक १० पाथी ज्याला दिन्छन्, महिलाई ५ पाथी मात्रै दिन्छन्,’ नेपालीले भनिन् ‘काम त एउटै हो, बराबर नै गर्छौं, तै पनि हाम्रो ज्याला आधा कम छ।’ समान कामको ज्याला समान बनाउने उम्मेदवारलाई मतदान गर्ने उनले बताइन्।
उनले अहिलेसम्म जितेर गएका कसैले पनि गुनासा सम्वोधन नगरेको भन्दै खिन्नता व्यक्त गरिन्। गाउँमा खानेपानीको अभाव रहेको, सिंचाईको लागि (कुलो) नहर नहुँदा खेतिपाती राम्रो नभएको उनले बताइन्।
‘भोट माग्न आउँदा खानेपानी घरमै ल्याइदिन्छौं, पक्की सिंचाई कुलो बनाई दिन्छौं भन्नेहरु जितेर गएपछि वास्ता गरेनन्’ उनले भनिन्, ‘आफ्नालाई मात्रै अवसर दिए।’
६५ वर्षीय टेकबहादुर वलीले किसानको अवस्थामा कुनै सुधार आउन नसकेको बताए। त्यसमाथि सरकारले जग्गामा बढी कर लगाएर समस्या थपेको उनको भनाइ छ।
अब गफ होइन, काम गरेर देखाउन सक्ने नेतालाई मतदान गर्ने उनले बताए। त्यही खल्यानमा ज्यालादारी काम गर्दै गरेका बबई ४ सुन्दरखाल निवासी ४३ वर्षीय गोपाल नेपालीले दलभन्दा अब राम्रो उम्मेदवार हेरर मतदान गर्ने बताए। ‘पार्टी हेरिँदैन व्यक्ति हेरेर मतदान गर्ने छु,’ नेपालीले भने।
बबईको हंशपुर निवासी २७ वर्षीय आकाश शर्मा भन्छन् ‘बेरोजगारलाई रोजगार सृजना गर्ने र समाजको विकास गर्नेलाई छानेर भोट हाल्ने छु।’
मुख्य प्रतिस्पर्धीमा नेकपा र कांग्रेस
पश्चिम दाङ चुनावको सरगर्मीले तातेको छ। पाँच नम्वर प्रदेशका १२ जिल्लामध्ये प्रदेशसभा सदस्य पदको लागि दाङमा मात्रै उपनिर्वाचन हुँदैछ। दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा हालको सत्तारुढ दल नेकपाबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीको गत माघमा आफैले चलाएको कार दुर्घटनामा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको छ।
यस पटक उक्त पदमा १४ जनाको बीचमा प्रतिपर्धा हुँदै छ। १२ विभिन्न राजनीतिक दल र २ जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन्। अघिल्लो निर्वाचनझैं यो उपनिर्वाचनमा पनि मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा र नेपाली काँग्रेसलाई हेरिएको छ।
नेकपाले स्व. उत्तरकुमारकी पत्नी विमला वलीलाई मैदानमा उतारेको छ। नेपाली काँग्रेसले नेता केशव आचार्यलाई उम्मेदवार बनाएको छ। आचार्य एकल पुरुष हुन। आचार्यकी एक्ली छोरीको विवाह भइसकेको छ भने छोरा छैनन्।
वलीका दुई नावालक छोरा छन्। महासमिति सदस्य ५७ वर्षीय आचार्य लोकतन्त्रान्त्रिक आन्दोलनका क्रममा पटक पटक जेल परेका नेता हुन।
सक्रिय रुपमा राजनीतिमा नलागेकी नेकपाकी उम्मेदवार वली आचार्य भन्दा आधा कम उमेरले कान्छी छन्।
पति उत्तरकुमारको निधन पछि वलीलाई ‘सिमप्याथी’ भोट पनि आउने नेकपाको अनुमान छ। अर्कोतर्फ तीन दशकभन्दा बढी सयमदेखि अनवरत रुपमा राजनीतिमा क्रियाशील आचार्यको निष्ठा विश्वासका आधारमा मत प्राप्त हुने कांग्रेसको अनुमान छ।
भोट तान्न प्रदेशको राजधानी मुख्य आश्वासन
प्रमुख दलहरुले मतदातालाई आकर्षित गर्न फेरि प्रदेश राजधानीको आश्वासनलाई जोड दिएका छन्। पूर्व सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पोखरेलले अघिल्लो निर्वाचनमा ‘दाङ’लाई प्रदेश राजधानी बनाउने मुख्य नारा बनाएरै जितेका थिए।
काँग्रेसले पनि अघिल्लो प्रदेश र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा चुनावी राजधानीलाई मुख्य आश्वासनको रुपमा प्रस्तुत गरेकै थियो।
राजधानी बनाउने वाचा पुरा नगरेको, चर्को करको भार थपेको, भ्रष्टाचार, महँगी, बेरोजगार, ३३ किलो सुनकाण्ड, निर्मला पन्त हत्या प्रकरणजस्ता कुरा उठाएर प्रतिपक्षी अहिले भोट तान्ने दाउमा छ।
‘पश्चिम दाङका जनतासँगै बसेर मैले राजनीतिक जीवन व्यथित गरेकोले त्यहाँको समस्यामा जानकार छु’ काँग्रेस उम्मेदवार आचार्यले भने ‘ति समस्या समाधानका लागि मेरो उमेदवारी हो।’
नेकपाकी उम्मेदवार विमला वलीले पनि विकासलाई मुख्य प्राथमिकता दिँदै भोट माग्ने गरेकी छन्। ‘मेरा स्व. पति उत्तरका अधुरा सपना पुरा गर्न मेरो उम्मेदवारी हो,’ वलीले भनिन्।
पतिले पश्चिम दाङको विकासमा खेलेको भूमिका र दुई पार्टीबीचको एकता पछिको बल नै चुनाव जित्ने प्रमुख आधार रहेको उनले अर्थ्याइन्।