राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हीतका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
भारतको नयाँ नक्साविरुद्ध नेपालका राजनीतिक दल यतिबेला एकठाउँ हुनु राम्रो पक्ष भएको उनको भनाइ छ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले अब जनता सचेत भइसकेकाले राष्ट्रिय हीतविपरित जाने जोसुकै दललाई जनताले ‘लोप्पा’ खुवाउने दावी गरे।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतले हडपेको नेपाली भूमि फिर्ता गर्न अहिलेको समय उत्तम भएको बताए। कालापानी, लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै उनले सुस्तासहित अन्य मिचिएका भूभाग पनि नेपालले फर्काउन पहल गर्नुपर्नेमा जोड दिए।
अहिलेको सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको भन्दै उनले मुलुकमा भ्रष्टाचार बढेको, विकास निर्माणका कामले गति नलिएको आरोप लगाए।