बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ।
मंगलबार साँझ राजधानीमा उनीहरूबीच भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि राष्ट्रपति हमिदले भक्तपुरका साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा अवलोकन गरेका थिए।
अपरान्ह ४ बजेर ८ मिनेटमा भक्तपुर पुगेका राष्ट्रपति हमिदले झण्डै १ घण्टा बिताए।
उनलाई भक्तपुरका मेयर सुनील प्रजापति र उपमेयर रञ्जना जोशी लगायतले स्वागत गरे।
भक्तपुरको न्यातपोल मन्दिर अवलोकनपश्चात उनले तौमडीमा साँस्कृतिक कार्यक्रमअन्तर्गत देवी नाचसमेत हेरे।
सैनिक स्कुलमा हेलिकप्टर ल्याण्डिङ गरेर उनी भक्तपुरतर्फ प्रस्थान गरेका थिए।
५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी आज नेपाल भ्रमणमा आएका हुन्।
नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।
राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्।
बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।
उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने जनाइएको छ।
नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका चन्द्रागिरी लगायतका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन्।
हमिद शुक्रबार स्वेदश फर्कने छन्।