खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनेगरी मिति तोक्न लागिएको बताएकी छन्।
मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर सम्पन्न गर्न र मिति तोक्न लागिएको उनले दाबी गरिन्।
आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताइन्। मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको उनले बताइन्।
उनका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ। मेलम्ची राजधानी नपुग्दा वर्षांको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाइन्।
स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उनको भनाइ छ। मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिसँगै हेलम्बु गाउँपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाँडै आयोजना सक्ने प्रतिबद्धता जनाइन्।