भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि सभावेश गरेपछि नेपालमा चर्को विरोध भएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतले नेपालले दाबी गर्दै आएको भूमि भारतले आफ्नो सीमा राखेको भन्दै विरोध गरेका छन्।
दलका भातृ संगठन नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियूलगायतले नक्साको विरोध गर्दै काठमाडौंमा बुधबार प्रदर्शनसमेत गर्न लागेका छन्।
दाङमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक भारतले नक्सामा राखेको हो भने कुनै हालतमा सह्यै नहुने बताए।
उनले भने, ‘मैले यसबारे पूर्ण रूपमा बुझ्न पाएको छैन। तर भारतले यस किसिमको काम गरेको छ भने त्यो कदापी सह्य हुन्न। सीमाका विषयमा सम्झौता गर्ने पक्षमा छैनौं।’
नेपाल-भारत सीमा विवादबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रष्ट बताएको पूराना कुरा पनि उनले स्मरण गरे।
‘लिपुलेकबारे भारतले फेरि एकतर्फी हस्तक्षेप गरेको हो भने मान्य हुँदैन। मैले भारत भ्रमणका बेला पनि मोदीसँग लिपुलेकबारे असहमति राखेको थिएँ। सरकारले कूटनीतिक पहल गर्नुपर्छ।’
कांग्रेसले नेपालका भूमि कालापानी र लिपुलेक भारतले नक्सामा पार्नू आपत्तिजनक भएको उल्लेख गरेको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिल्लीबाट जारी नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
‘दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको छ। कालापानी र लिपुलेक हाम्रो भूमि हो, हाम्रा अभिन्न अंग हुन्। सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस्। नेपाली माटोका बारे कहीँबाट पनि उब्जने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ,’ शर्माले भने।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका पूर्वगृहमन्त्री भीम रावलले पनि कालापानी र लिपुलेकसहितको भारतीय नक्साप्रति आपत्ति जनाएका छन्। नेपालका भूमि भारतले नक्सामा देखाएको प्रति नेपाल सरकारले आपत्ति जनाउनुपर्ने उल्लेख पनि उनले गरेका छन्।
उनले भनेका छन्, ‘नेपालको लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि भनी देखाएकोप्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ। यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलिय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गर्नुपर्छ।’
भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हुने रावलले बताएका छन्।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले नेपालको भूमि भारतीय नक्सामा पर्नु आपत्तिजनक र अस्वीकार्य भएकोले सशक्त प्रतिवाद गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्।
थापाले ट्वीट गर्दै भनेका छन्, ‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो। भारतले सो भूभाग अनधिकृत रूपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा परेको देखिन्छ। यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस्।’
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारत सरकारले नेपालको भूमि आफ्नो नक्सामा पारेर अन्तर्राष्ट्रिय कानुनविपरीत काम गरेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले नयाँ नक्सामा आफ्नो भूभाग दाबी गरेकोप्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ। भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो।’
विवेकशील नेपाली दलले विवाद भएको क्षेत्रको बारेमा गठित संयन्त्रले अन्तिम निष्कर्ष नदिइकन एकलौटी तर्फबाट उक्त विवादित क्षेत्रलाई आफ्नो नक्सामा सामेल गर्ने भारतीय कदम अनपेक्षित भएको भन्दै विरोध गरेको छ।
यस विषयमा नागरिक समक्ष आफ्नो पक्षका प्रमाणहरु जारी गर्ने तथा कूटनीतिक पहलबाट भारतसँग प्रष्ट रुपमा वार्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उसको भनाइ छ।
सरकारले भारतीय नयाँ नक्साबारे आजै औपचारिक धारणा सार्वजनिक गर्ने बताएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतको नयाँ नक्साबारे मन्त्रालयले केहीबेरमा विज्ञप्ति जारी गर्न लागेको सेतोपाटीलाई बताए।