प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म बसेको थियो।
‘प्रधानमन्त्रीजी पूरै समय बैठकमा बस्नुभयो,’ बैठकपछि एक मन्त्रीले सेतोपाटीसँग भने।
गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। यसअघि प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएर फोक्सोको एक्सरे गरेका थिए।
आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।
मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।
आजको मन्त्रिपरिषद्ले गरेका थप निर्णयबारे जानकारी दिइएको छैन। सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै आएको छ।