प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार डिस्चार्ज गर्ने तयारी ग्राण्डी अस्पतालले गरेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिए।
‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पहिले पनि राम्रो थियो होमोडायलासिसपछि झन् राम्रो भएको छ,’ पाण्डेले भने, ‘डायलासिसपछि प्रधानमन्त्री अहिले रेष्टमा हुनुहुन्छ, निन्द्राबाट ब्युँझिएपछि एकपटक डाक्टरहरूले हेरेपछि उहाँलाई आजै ८-९ बजेसम्म डिस्चार्ज गर्छौं।’
उनले प्रधानमन्त्री पद सार्वजनिक भए पनि ओली एउटा व्यक्ति पनि भएकोले स्वास्थ्य अवस्था प्राइभेसी हुने तर्क गरे।
प्रधानमन्त्रीलाई आइसियुमा नराखिएको पाण्डेले बताए।
‘उहाँलाई डायलासिस रूममा राखेको हो,’ उनले भने।
अब डायलासिस गर्नु पर्छ कि पर्दैन भन्ने पत्रकारहरूको प्रश्नमा पाण्डेले त्यो अहिले थाहा नहुने जानकारी दिए।
‘अब डायलासिस गर्नुपर्छ कि पर्दैन डाक्टरहरूले पछि डिसिजन गर्नुहुन्छ,’ पाण्डेले भने,
प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएकोले ढुक्क हुन उनले आग्रह गरे। प्रधानमन्त्रीको विदेशमा उपचार हुने वा नहुने भन्ने प्रश्नमा उनले आफूले भन्न नसक्ने जवाफ दिए।
भदौमा सिंगापुर गएर औषधि परिवर्तन गराएर आएका प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि बुधबार ग्रान्डी अस्पताल गएका थिए। दुई दिनमा उनको दुई पटक होमोडायलासिस गरिएको छ।