प्रधानमन्त्री केपी ओलीको दिनचर्या मंगलबारसम्म सामान्य थियो। उनी सरकारी र पार्टीको कामकाजमा दिनको १६ घन्टाभन्दा धेरै खटिन्थे। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको यस्तो सक्रियता उनका कुनै पनि समकालीन नेताभन्दा बढी थियो।
बुधबारबाट त्यो एकाएक परिवर्तन भएको छ।
मिर्गौलामा गडबडी देखिएपछि उनी एक रात दुई दिन अस्पताल बसे। पछिल्लो २४ घन्टाभित्र दुईपटक उनको 'डायलासिस' गरियो। बिहीबार साँझ सरकारी निवास बालुवाटार फर्किए पनि आगामी दिनहरूमा उनको स्वास्थ्य कस्तो हुनेछ भन्ने चासो र अड्कलबाजी चल्न थालेका छन्।
सरकार र अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी सूचना लुकाएर अड्कलबाजीको बजारलाई झनै मलजल गरेको छ। प्रधानमन्त्री कार्यालयले बुधबार नियमित जाँचका लागि प्रधानमन्त्री अस्पताल गएको बताएको थियो। ओली दिनभरि अस्पताल बसेर डायलासिस गरिसक्दा पनि बालुवाटारले 'नियमित जाँच’ को रट दोहोर्याइरह्यो।
ग्रान्डी अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले बुधाबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा पनि प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको उल्लेख छ। मिर्गौलामा समस्या भएको वा डायलासिस गरिएको छनकसम्म विज्ञप्तिमा छैन।
बुधबार साँझ सेतोपाटी लगायत मिडियाले प्रधानमन्त्रीको डायलासिस गरिएको समाचार प्रकाशित गरेका थिए। बिहीबार पनि थप डायलासिस गरिने सम्भावनाबारे लेखेका थिए।
बिहीबार दिउँसो पुष्पकमल दाहाल लगायत नेकपा नेताहरूले डायलासिस गरिएको सार्वजनिक रूपमा स्वीकार गरे। अस्पतालले पनि पत्रकार सम्मेलनमा पुष्टि गर्यो। थप सूचना भने दिन मानेन। प्रधानमन्त्री ओली घर फर्किए पनि पूर्ण सूचनाको अभावमा अड्कलबाजी जारी छ।
सेतोपाटीले प्रधानमन्त्रीनिकट र अस्पताल स्रोतहरूसँग कुराकानी गरेर उनको अहिलेको स्वास्थ्य स्थिति र भोलिका विकल्पबारे यो ब्रिफिङ तयार पारेको छ।
सबभन्दा पहिला मिर्गौलाले गर्ने कामबारे बुझौं।
मिर्गौलाले मुख्य दुइटा काम गर्छ — पहिलो, रगतमा भएका हानिकारक तत्त्व छानेर फाल्छ। दोस्रो, शरीरमा धेरै भएको पानी सोसेर पिसाबमार्फत् बाहिर निकाल्छ। यसरी शरीरमा पानीको सन्तुलन मिलाउने काम मिर्गौलाले नै गर्छ।
स्रोतहरूका अनुसार प्रधानमन्त्रीको मिर्गौला काम गर्न नसक्ने गरी बिग्रिएको छ। मिर्गौला बिग्रिएपछि एकातिर उनको रगतमा क्रेटिनिन र युरियाको मात्रा बढेको छ भने अर्कातिर शरीरमा पानीको मात्रा पनि वृद्धि भएको छ। केही दिनदेखि शरीरमा बढी भएको यो पानीले प्रधानमन्त्री ओलीको अनुहार सुनिएजस्तो देखिएको छ।
डाक्टरहरूले ग्रान्डीमा २४ घन्टामा दुईपटक डायलासिस गरेर प्रधानमन्त्री ओलीको शरीरमा भएको अधिक पानी र रगतमा भएको विकार बाहिर फाल्ने कोशिस गरेका छन्। त्यसले अहिले उनको शरीरमा भएको पानी र रगतमा भएको विकारको मात्रा केही घटेको छ।
शरीरमा पानी र विकार जम्मा हुने नियमित प्रक्रिया हो। यो फेरि पनि जम्मा हुनेछ। मिर्गौला पूरै कमजोर भएकाले यसले फेरि पनि रगतको विकार र शरीरलाई धेरै भएको पानी पिसाबमार्फत् फाल्न सक्दैन। त्यसैले, प्रधानमन्त्रीलाई अब नियमित डायलासिस गर्नुपर्छ। अस्पताल स्रोतका अनुसार उनलाई अब साताको तीनपटकसम्म डायलासिस गर्नुपर्ने हुन सक्छ।
एकपटक डायलासिस गर्न करिब चार घन्टा लाग्छ। अस्पताल जाने-आउने हो भने यसले थप एक घन्टाजति समय लिनेछ। तयारी गरेर बालुवाटारमै पनि नियमित डायलासिस गर्न सकिन्छ। यसो गर्दा डायलासिस गर्ने दिन कम्तिमा आधा दिन बाहिरका कार्यक्रम प्रभावित हुनेछन्।
प्रधानमन्त्रीका लागि अबको पहिलो विकल्प आफ्नो काम र सक्रियता केही कम गरेर नियमित डायलासिस गर्ने हो। यसरी नियमित डायलासिस गरेर ओलीले प्रधानमन्त्रीका रूपमा आफ्नो कार्यभार जारी राख्न सक्छन्।
दोस्रो विकल्प भनेको फेरि मिर्गौला प्रत्यारोपण गर्ने हो।
दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेहरूको संख्या बढ्दो छ। शारीरिक र मानसिक हिसाबले कोही मानिस स्वस्थ छ, अझै उसले धेरै काम गर्न सक्छ भने त्यस्ता मानिसले दोस्रोपटक पनि मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन्। प्रधानमन्त्री ओलीका हकमा पनि त्यो लागू हुन्छ। उनमा अन्य शारीरिक बिमारी देखिन्न। उनी मानसिक हिसाबले सबल मात्र छैनन्, उनको मनोबल अद्भूत रूपले उच्च देखिन्छ।
६८ वर्ष लागेका ओलीलाई फेरि मिर्गौला प्रत्यारोपण गर्न मिल्छ त? दोस्रोपटक प्रत्यारोपण गरेको मिर्गौला सफल हुने सम्भावना कति हुन्छ? यसले कति प्रभावकारी रूपले काम गर्छ?
केही अघिसम्म पनि दोस्रोपटक प्रत्यारोपण गरिएको मिर्गौला त्यति प्रभावकारी नहुने विश्वास गरिन्थ्यो। उमेरसँगै यस्तो प्रत्यारोपण कम प्रभावकारी हुने तर्क गरिन्थ्यो। पछिल्ला अध्ययनहरूले यस्तो विश्वास र तर्कलाई खण्डित गरेका छन्।
नर्वेमा गरिएको एउटा अध्ययन सन् २०१७ को 'बिएमसी नेफ्रोलोजी' जर्नलमा प्रकाशित भएको थियो, जसमा भनिएको छ- ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्दा र कम उमेर भएका व्यक्तिमा पहिलोपटक प्रत्यारोपण गर्दा सफलता र प्रभावकारितामा खासै फरक देखिएन।
उमेर धेरै भयो भनेर मिर्गौला प्रत्यारोपण गर्न हच्किनुपर्ने कुनै कारण नभेटिएको उक्त अध्ययनले देखाएको छ। बरू उक्त अध्ययनले भन्छ- उमेर पुगेका मानिस डायलासिसमा बस्नुभन्दा प्रत्यारोपण गर्नु धेरै प्रभावकारी हुन्छ।
डायलासिसको नियमित झन्झट नबेहोर्ने हो भने प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने विकल्प पनि उपलब्ध छ। त्यस्तो प्रत्यारोपणका लागि उनलाई कसले मिर्गौला दिन्छ भन्ने एउटा महत्वपूर्ण विषय हो। आफ्नो परिवारका सदस्यले दिए उनले कानुनी रूपमा नेपालभित्रै प्रत्यारोपण गर्न सक्छन्।
परिवारबाहिरका सदस्यको मिर्गौला लिने हो भने कानुनी रूपमा त्यो प्रत्यारोपण नेपालमा हुन सक्दैन। नेपालको कानुनले परिवारबाहिरका व्यक्तिको मिर्गौला लिन वर्जित गरेको छ।
त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न विदेशी भूमिमा जानुपर्छ। उनको पहिलो प्रत्यारोपण पनि भारतमा गरिएको थियो।