प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभन्दा छिटो सक्न निर्देशन दिएका छन्।
बुधबार प्रधानमन्त्री कार्यालयस्थित एक्सन रूमबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरेका प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई काम छिटो सक्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार दिउँसो पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन, रानीजमरा र सिक्टा सिँचाइलगायत राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गरेका हुन्।
विभागीय मन्त्रीहरूलाई साथै राखेर प्रधानमन्त्रीले ती आयोजनाको प्रगति विवरण लिएका थिए।
एक्सन रूममा प्रधानमन्त्रीसँगै अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।
ऊर्जामन्त्री पुनका अनुसार प्रधानमन्त्रीले आयोजनाहरू अनुगमनपछि कार्यशैली बदलेर काम छिटो सक्न निर्देशन दिएका हुन्।
‘गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिइ तोकिएको समयभन्दा अघि नै आयोजनाका काम सक्न उहाँले निर्देशन दिनुभएको छ,’ पुनले भने।
यो पनि:
प्रधानमन्त्रीले गरे एक्सन रूमबाट ठूला आयोजनाको अनुगमन