नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले खाली भएका ठाउँमा आगामी मंसिरमा हुन लागेको प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन बिथोल्ने योजना बनाएको खुलेको छ।
बिहीबार बिहान राति घेरा हालेर नेत्रविक्रम चन्दका दाजुसहित २१ जना नेता–कार्यकर्ता पक्राउ परेपछि विप्लव समूहको यस्तो योजना रहेको खुलेको हो। विप्लव समूहले चुनाव बिथोल्नका लागि ‘रणनीतिक योजना’ बनाउन बैठक राखेको प्रहरीले जनाएको छ।
आगामी मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ (२) मा प्रदेश सभा र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ। यसैगरी देशैभर खाली भएका ठाँउमा निर्वाचन हुँदैछ।
विप्लवका दाइ चन्द्रबहादुरसहितका व्यक्ति पक्राउ परेपछि दाङलगायत देशभर हुन गइरहेको उपनिर्वाचन विफल तुल्याउने रणनीति विफल भएको स्थानीय प्रशासनले जनाएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेता-कार्यकर्ता पक्राउ पर्दा महत्वपूर्ण दस्तावेज र उनीहरूका गोप्य योजनाबारे जानकारी पाइएको बताए। त्यसमा चुनाव बिथोल्ने योजना रहेको उनले खुलाए।
दाङका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले मंसिर १४ गतेको उपनिर्वाचन बिथोल्ने विप्लव समूहको योजना रहेको बताए। ‘यो अपरेसनपछि उनीहरूको योजना तत्कालका लागि विफल भएको छ,’ उनले सेतोपाटीसँग भने।
विप्लवका दाजु चन्द्रबहादुर चन्द उक्त पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज, मध्यपश्चिम कमाण्ड इन्चार्ज थिए। उनकै नेतृत्वमा भइरहेको बैठकस्थल र सेल्टरसमेत पत्ता लगाएर प्रहरीले नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। प्रहरीले विप्लव समूहको 'मध्यपश्चिम कमाण्ड' ध्वस्त भएको दाबी गरेको छ।
प्रहरीले लामो अनुसन्धानपछि प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी ब्युरोबाट झन्डै ३० जना प्रहरी परिचालन गरेर उनीहरूलाई पक्राउ गरेको थियो।
डिएसपी शाहले नेताहरू पक्राउ परेपछि निकै महत्वपूर्ण सूचना भेटिएको र दस्ताबेज बरामद भएको बताए। ‘विभिन्न व्यक्तिहरूसँग चन्दा उठाउन तयार पारिएको ठेली तथा दस्तावेज, यसअघि संकलित ठेली, भावी योजनाका दस्तावेज बरामद भएका छन्,’ शाहले भने।
राजपुर गाउँपालिका वडा नं. ४ स्थित जंगल क्षेत्रमा बास बसेका विप्लवका दाजुसहित राप्ती इञ्चार्जलगायत नेताहरु पक्राउ परेपछि विप्लवका नेता-कार्यकर्ता भागभाग भएका छन्। एक जना विप्लवका कार्यकर्ताले घटनाबारे अनुसन्धान भइरहेको बताए।
‘अहिले यही हो भन्ने सक्ने अवस्था भएन, हामीले विस्तृत अध्यनपछि मात्रै त्यसमा कसको हात छ भन्न सक्छौं,’ उनले भने, ‘पार्टीबाट आन्तरिक सूचना लिक भएको नभई अलिकति लापरवाही र विगत लामो समयदेखि एकै ठाउँमा बस्नुले प्रहरीले सूचना पाएको शंका छ।’