बिहीबार राती १ बजे पक्राउ परेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जनाको नाम सेतोपाटीलाई प्राप्त भएको छ।
यी नाम प्रहरीले अझै पुष्टि गरेको छैन। प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गर्ने बताएको छ।
सेतोपाटीलाई प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा विप्लव नेकपाको मध्यपश्चिम कमाण्डका प्रमुख नेताहरू छन्।
विप्लवका दाइ चन्द्रबहादुर 'वीरजंग' पक्राउ परेका प्रमुख नेता हुन्। उनी पार्टीका केन्द्रीय सदस्य र पश्चिम कमाण्ड, लुम्बिनी ब्यूरो इन्चार्ज हुन्।
अरू थुप्रै नेता र कार्यकर्ताहरु प्रहरीले घेरा हालेको ठाउँभन्दा छुट्टै घरमा बसेकाले भाग्न सफल भएको स्रोतको दाबी छ।
वीरजंगसहित पक्राउ पर्नेको २१ जनाको सूची:
१) चन्द्रबहादुर चन्द (वीरजंग) – केन्द्रीय सदस्य, लुम्बिनी ब्यूरो र मध्यपश्चिम कमाण्ड ईन्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) – राप्ती ब्युरो ईन्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो, न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम)- दाङ जिल्ला ईन्चार्ज
६) प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी
७) बविन केसी (जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष
८) सुनिल पौडेल– बुद्धिजिवी
९) एकराज चौधरी- एरिया नम्बर ४ ईन्चार्ज, जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान)- एरिया नम्बर १ ईन्चार्ज, राजपुर गाँउपालिका सेक्रेटरी
११) तिलक पुन- पूर्व जनमुक्ति सेना
१२) सुरज विक- दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका- पार्टी सदस्य
१४) पोष्टमान घर्ती- रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली
यो पनि पढ्नुस्ः
नेपाल प्रहरीले बिहीबार राती १ बजे पक्राउ गरेका २१ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको थियो।
उनीहरूलाई दाङ जिल्लाको नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको हो। दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले त्यहाँ तीन दिनदेखि केन्द्रीय सदस्यसहितको उपस्थितिमा राप्ती व्यूरोको बैठक बसिरहेको थाहा पाएपछि प्रहरीले घेरावन्दी हालेर पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विप्लवका केन्द्रीय नेता र राप्ती व्यूरो इञ्चार्जसहितका नेता कार्यकर्ता रहेका छन्।
पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय घोराही ल्याइंदैछ। घोराही ल्याएपछि अनुसन्धानबाट पक्राउ परेकाहरू कोको हुन भनेर एकिन हुने जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
उनीहरुलाई बिहीबार दिउँसो दुई-तीन बजेसम्ममा घोराही ल्याइपुर्याइने प्रहरीको भनाइ छ।
पक्राउ पर्दा विप्लवका कार्यकर्ताहरू राप्ती गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको घरवाट बैठक बसिरहेका थिए। वलीको परिवार घरमा बस्दैन।
उनको घर रित्तै थियो। त्यही रित्तो घरमा विगत तीन दिनदेखि विप्लवका नेता कार्यकर्ताको बैठक बसिरहेको थाहा पाएर गोप्य सूचनाको आधारमा मध्यरातमा घेराहालेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बैठक स्थलमै छापा मारेर नेता कार्यकर्ता पक्राउ गरेको हुँदा हातहतियार, विष्फोटक पदार्थ तथा महत्वपूर्ण सूचना बरामद भएको प्रहरीको दावी छ।
राप्ती गाँउपालिका हातहतियार ओसारपसारको मुख्य नाका
दश वर्षे माओवादी युद्धको समयमा दाङलाई तात्कालिन माओवादीले मुख्य रुपमा उपयोग गरेको थियो । माओवादीका सबैजसो ठूला नेताहरु दाङ उपत्यकामा नै बस्ने गरेका थिए। दाङ र भारतका बीचमा झन्डै ३८ किलोमिटर जंगल जोडिएको खुल्ला सीमा छ। यही जंगलको बाटो प्रयोग गरेर माओवादीहरुले ‘जनयुद्द’ कालमा पनि सहज रुपमा हातहतियार र विष्फोटक पदार्थ भित्र्याउने गरेका थिए।
विप्लवले पनि आफ्नो पार्टीको गठन दाङमै गरेका थिए । तुलसीपुर बजारमा रहेको एक सिनेमा हलमा दुई दिन सम्म भेला गरेर विप्लवले नयाँ पार्टी गठन गर्दै आफुलाई महासचिव घोषणा गरेका थिए ।
रोल्पामा जन्मिएका विप्लव हाल बसाई सरेर कपिलबस्तुमा बस्दै आएका छन्। तर अहिले पनि उनी अधिकांश समय दाङ र रोल्पाकै सेरोफेरोमा बस्दै आएको प्रहरीले दाबी गर्दै आएको छ।