दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव कार्यक्रम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बहिस्कार गरेको छ।
सत्तारुढ दलका नेता कार्यकर्ताले मात्रै नभई प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले समेत प्रतिष्ठानको कार्यक्रम बहिस्कार गरे।
२०७४ साल असोज २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि संसदले ऐन पास गरेको थियो। २०७५ असोज १२ गते सरकारले राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरेको हुँदा त्यही दिनलाई प्रतिष्ठानले वार्षिकोत्सव मनाएको हो।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई पत्र मार्फत एक हप्ताअघि नै प्रमुख अतिथिको निम्तो दिइएको थियो। उनले सुरुमा सहजै स्वीकार गरे पनि अन्तिममा मेयर चौधरीले कार्यक्रममा आउन नसक्ने अवगत गराए।
त्यसपछि प्रतिष्ठानले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई प्रमुख अतिथिको रुपमा निम्त्याउन खोज्यो। उनले पनि अस्विकार गरे।
सत्तारुढ दल र जिल्ला उच्च सरकारी कर्मचारीले समेत प्रतिष्ठानको कार्यक्रम बहिस्कार गरेपछि कार्यक्रम हुने दिन सम्म प्रमुख अतिथिको टुङ्गो थिएन। अन्तिमा प्रतिष्ठानले नेपाली काँग्रेसकी नेतृ तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटालाई प्रमुख अतिथिको रुपमा निम्त्याएर वार्षिकोत्सव मनायो।
संविधासभा सदस्य राजु खनाल, नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सभापति वीरकेश्वरी गौतम लगायतका नेपाली काँग्रेसका नेताहरु मात्रै कार्यक्रममा पुगे।
प्रतिष्ठानको प्रथम वार्षिकोत्सवमा पुगेका नेकपाको तर्फबाट एक जना व्यक्ति मात्रै थिए दाङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिष्ठानभित्र गठित सर्वदलीय सर्वपक्षीय सरोकार समितिका संयोजक समेत रहेका नारायण भुसाल। उनले प्रतिष्ठानभित्र राजनीति गर्नु गलत भएको मन्तव्यका क्रममा बताए।
सत्तारुढ दलबाटै प्रतिष्ठानको वार्षिकोत्सव बहिस्कार गर्नुलाई सही मान्न नसकिने उनले स्पष्ट पारे। प्रतिष्ठानलाई आवश्यक बजेट नदिने अनि प्रतिष्ठानको विकास भएन भनेर विरोध मात्रै गर्ने शैलीको उनले विरोध जनाए।
प्रमुख अतिथि राष्ट्रियसभाकी सदस्य अनिता देवकोटाले प्रतिष्ठान साझा सरोकारको विषय भएको भन्दै त्यसमा राजनीति गर्न खोज्नु गलत भएको बताइन्। सबैको सहयोग र सहकार्यबाट मात्रै प्रतिष्ठानको विकास हुने हुँदा केही समस्या भए छलफल र संवादमार्फत समाधान गर्न उनले सुझाइन्।
विरोध हुनुको मुख्य कारण
प्रतिष्ठानमा उपकुलपति डा. संगीता भण्डारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नियुक्त गरिएकी हुन। त्यसैले उनको नियुक्तिसँगै नेकपा विरोधमा उत्रिएको छ।
हाल ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’का नाममा दिनहुँजसो विरोध हुँदै आएको छ। उनीहरुको एक सुत्रीय माग भनेको उपकुलपतिको राजिनामा हो।
अभियानको विरोधमा नेकपाले पुरै समर्थन जनाउँदै आएको छ। नेकपाको जिल्ला नेतृत्वले यसअघि नै विज्ञप्ति प्रकासित गर्दै आन्दोलनलाई समर्थन गरिसकेको छ। कांग्रेसको जिल्ला नेतृत्व ठीक त्यसको विपक्षमा उभिएको छ।
कांग्रेसले आफ्नो सरकारका पालमा उपकुलपति नियुक्ति गरिएकै कारण राजनीतिक पूर्वाग्रह राखेर उनलाई हटाउन अनावश्यक राजनीतिक गरिएको बताउँदै आएको छ।
प्रतिष्ठानले विकासको आवश्यक बजेट नछुट्याएको तर विरोध मात्रै गर्दै आएको भन्दै उपकुलपतिको पक्षमा कांग्रेस उभिएको छ।
सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेस उपकुलपतिको समर्थन तथा विरोधमा उभिएका कारण दिनानुदिन प्रतिष्ठान भित्र राजनीति धुर्विकरण बढ्दै गएको छ। अघिल्लो महिना मात्रै प्रतिष्ठान भित्रै गएर रेक्टर माथि नेकपाका जिम्मेवार कार्यकर्ताले हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।
आक्रमणकारीलाई पक्राउ पूर्जी जारी गरेपछि एकाएक एसपी बेलबहादुर पाण्डेको सरुवा भएको थियो। रेक्टरलाई कार्यकक्षमै गएर दूव्र्यवहार गर्ने व्यक्तिलाई भने प्रहरीले अझै नियन्त्रणमा लिएको छैन।
नेकपाको समर्थनमा उपकुलपतिको राजिनामाको मागगर्दै आन्दोलन हुँदै आएको कारणले स्थानीय सरकारका प्रमुख र नेकपाका नेता कार्यकर्ताले प्रतिष्ठानको वार्षिकोत्सव समेत बहिस्कार गरेको जानकारहरु बताउँछन्।
ल्याव र डेण्टल सेवा सुरु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधुनिक ल्याव र डेन्टल सेवाको सुरु गरेको छ । प्रतिष्ठानले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले त्यसको उद्घाटन गरेकी हुन। उपकुलपति डा. संगीता भण्डारीले अब ल्याव परिक्षणका लागि विरामी वाहीर जानुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरिन्।