प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन्।
बुधबार प्रधानमन्त्री ओलीले सो भवनको शिलान्यास गरेका हुन्।
सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो।
१ सय ७३ रोपनी क्षेत्रमा फैलिएको परिसरको ४५ प्रतिशत भूभागमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। भवन निर्माणको जिम्मा चिनियाँ र नेपालीको संयुक्त कम्पनीले पाएको छ। भवन निर्माण विभागका प्रद्युम्न तुलाधरले 'एसएचइसी र टुण्डी' ज्वाइन्ट भेन्चर कम्पनीले पाएको जानकारी दिए।
दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ।
हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।
संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ। सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ।
नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ।
भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो।
सबै तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी