नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको सम्झनामा दाङको नारायणपुर बजारको चोकको नाम ‘खुमबहादुर खड्का चोक’ राखिएको छ।
तुलसीपुर-घोराही सडकखण्ड अन्तर्गत नारायणपुर बजारभित्र दक्षिणमा ढिकपुर र उत्तरमा बिपी बाटिका जाने वडा नम्बर १० को सडक खण्डको चोकलाई खुमबहादुर चोकको रूपमा नामाकरण गर्न लागिएको हो।
जिल्लामा स्वर्गीय नेता खुमबहादुर खड्काको नामबाट चोक नामाकरण गर्न लागिएको यो नै पहिलो हो। नेपाली कांग्रेस त्रिपुरनगर समितिका सभापति दीपक पाण्डेको अध्यक्षता र निर्वाचन क्षेत्र नं. ३ का सभापति भूपबहादुर डाँगीको आथित्यमा बिहीबार बसेको बैठकले स्वर्गीय नेता खड्काको नामबाट हाललाई चोकको नामाकरण गर्ने र निकट भविष्यमा खड्काको सालिक स्थापना गर्ने निर्णय भएको त्रिपुर सभापति पाण्डेले बताए।
नेपाली कांग्रेस साबिक त्रिपुर समितिको निवेदनका आधारमा घोराही उपमहानगरपालिका वडा नं. १० को बैठकले ‘खुमबहादुर खड्का चोक’ नामाकरण गर्ने निर्णय गरेको थियो।
खुमबहादुर खड्का चोकको शुक्रबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका छन्।
चोकको नाम पार्टीले राख्ने हो भनी प्रश्न गर्दा घोराही वडा नं. १० वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले वडालाई प्राप्त सबै राजनीतिक दलहरूको भेला बोलाएर निर्णय गरेको बताए।
‘नेपाली कांग्रेस त्रिपुरको निवदेनका आधारमा हामीले सबै दल प्रतिनिधि भेला गरेर निर्णय गरेका हौं,’ डाँगीले भने, ‘खुमबहादुर खड्काको नाममा चोक बनाउने सवालमा तत्कालीन एमालेबाहेकका सबै दलले सहमतिमा हस्ताक्षर गर्नु भएको छ।’
एमालेका प्रतिनिधिले व्यक्तिको नामबाट चोक राख्न नहुने भन्दै हस्ताक्षर नगरेको वडा अध्यक्ष डाँगीले बताए।
चोकको नाम खड्काको नामबाट नामाकरण भई सिलान्यासको तयारी भइसक्दा समेत घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले भने त्यसप्रति अनभिज्ञता व्यक्त गरे।
‘मलाई त्यसबारे थाहा छैन। मलाई कसैले भनेको पनि छैन,’ चौधरीले भने ‘त्यसबारे मैले वडाअध्यक्षसँग बुझ्नु पर्ने भयो।’
मेयर चौधरीले त्यसबारेमा उपमहानगरपालिकामा कुनै छलफल नभएको बताए।
‘कानुनमा के छ त्यो मैले हेर्न पाएको छैन। अहिले म बाहिर छु,’ उनले भने।