नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले भूमिगत रुपमा राजनीतिक गतिविधि गर्दै आएका नेत्रविक्रम चन्द (विप्लव)लाई काठमाडौं आएर राजनीतिक निकासका लागि खुल्ला छलफलमा सहभागी हुन आग्रह गरेका छन् ।
दाङको तुलसीपुरमा शुक्रवार बिहान प्रेस संगठन दाङले गरेको पत्रकार सम्मेलनमा नेकपाका संगठन विभाग उपप्रमुख समेत रहेका शर्माले त्यस्तो बताएका हुन ।
‘विप्लवजी सिधै काठमाडौं आउनुहोस् के–के कुरामा छलफल गर्ने खुला छलफल गरौं,’ पूर्व गृहमन्त्री समेत रहेका शर्माले भने ।
उनले संगठन गर्न समाजवाद, समाजवादको कार्यक्रमलाई लागु गर्न,समाजवादी क्रान्तिलाई अगाडि बढाउन, भ्रष्टाचारका विरुद्ध लड्न, तल्लो उत्पिडीत जनताको पक्षमा बोल्न सबै कुरा छुट रहेको हुँदा विप्लवलाई आफूले खोजीरहेको बताए ।
‘विप्लवजी कहाँ गएर बस्नु भएको छ म खोजी रहेको छु । आउनुहोस् खुल्ला छलफल गरौं यो सबै कुरा समाधान हुन्छ, अब हामी सबै मिलेर संविधानलाई कार्यान्वय गर्नुपर्ने छ,’ शर्माले भने ।
अधिकारको कुरा संविधानमा लेखिसकिएको हुँदा त्यसलाई कार्यान्वयन गर्नका लागि सबै लाग्न जरुरी रहेको उनले बताए ।
‘विप्लवजी मेरो हिजोपनि साथी हो र आजपनि साथी हो,’ शर्माले भने ‘ साथीलाई मेरो आह्वान के छ भने छिटो आउनुहोस यो कुरा सबै हामी समाधान तिर जान सक्छौं।’
फरक प्रसंगमा उनले दुई अध्यक्षले जे सल्लाह गर्छन त्यही कुरा लागु हुने बताए ।
दुई अध्यक्षले सल्लाह गरेर कार्य विभाजनको जिम्मेवारी सम्हाल्दै आएको हुँदा आगामी दिनमा पनि दुई अध्यक्षले जे निर्णय गर्छन त्यही कुरा लागु हुने उनले बताए ।
उनले भने ‘ तपाईंहरुले देख्नुभयो सम्माननीय प्रधानमन्त्री केपी ओली उपचारका लागि विदेश जाँदा अर्कौ अध्यक्ष प्रचण्डले पार्टीको अध्यक्षता गर्नु भयो, निर्णयहरु गर्नुभयो।’
नेता शर्माले कार्यक्रमको प्रक्रिया यही ढंगले आवश्यकताका आधारमा सल्लाह सम्झदारीमा दुई अध्यक्षले निर्धारण गर्ने बताए ।
‘पार्टी एकताको सन्दर्भमा दूई अध्यक्ष बनाएको हुँदा उहाँहरुको सल्लाह र समझदारीमा पार्टी अगाडि बढ्छ,’ शर्माले भने ।
तर उनले अपेक्षा गरे अनुरुप सरकारले काम गर्न नसकेको बताएपनि भविष्यमा अब यस्तो नहुने तर्क गरे ।