दुई दिने भ्रमणमा नेपाल आएका भारतीय विदेश मन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता थालेका छन्।
बुधबार बिहान बंगलादेशको ढाकाबाट काठमाडौं उत्रिएका जयशंकरले दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन्।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र जयशंकरबीच दुई पक्षीय सम्बन्धबारे कुराकानी भएको छ।
काठमाडौंमा आज र भोलि हुने नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन जयशंकर नेपाल आएका हुन्।
आयोग बैठकको परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र जयशंकरले सहअध्यक्षता गर्नेछन्।
बैठकमा दुई पक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
सन् १९८७ मा स्थापना भएको उक्त आयोगको बैठक आलोपालो गरी नेपाल र भारतमा हुने गर्छ। अघिल्लो बैठक सन् २०१६ मा भारतमा भएको थियो।
विदेश मन्त्री जयशंकरले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।
नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेश मन्त्री नियुक्त भएका जयशंकरको मन्त्रीका हैसियतमा यो पहिलो नेपाल भ्रमण हो।
यसअघि उनी सन् २०१५ मा नेपालको संविधान जारी हुनुअघि मोदीको दूत बनेर काठमाडौं आएका थिए। त्यतिबेला उनले नेपालका दलहरूलाई संविधान जारी प्रक्रिया केही दिन रोक्न दबाब दिएका थिए।
नेपालले भारतीय दबाबका बाबजुद २०७२ असोज ३ गते संविधान जारी गरेको थियो।
संविधानमा असन्तुष्टि जनाउँदै लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो।
यो पनि:
आइपुगे भारतीय विदेशमन्त्री जयशंकर (तस्बिरहरू)