प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्।
जिल्लाको राप्ती गाउँपालिकाको मुसरियामा बुधबार पार्टीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता नेता पौडेलले नेपाली काँग्रेस जनताको मनबाट नहराएको भन्दै पुनः बहुमतका साथ आउने दाबी गरे।
‘तपाईं निश्चिन्त भएर जनताको काम गर्नुहोस्। अर्को निर्वाचनमा पक्का हो काँग्रेसले बहुमत प्राप्त गर्छ,’ बरिष्ठ नेता पौडेले भने। नेकपाको बहुमतको सरकारले गरेका विवादास्पद तथा हास्यात्मक कामले जनताले आगामी निर्वाचनमा नेकपालाई पत्तासाफ गरिदिने उनको दाबी थियो।
तर, पौडेलले काँग्रेसमा रहेका केही समस्यालाई भने वडा स्तरबाटै समाधान गर्दै जानुपर्ने बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकार काण्डै काण्डमा फसेको बताए। यो सरकार जनताको सुखदुःखको साथी बन्न नसकेको उनको भनाई छ। उनले नेकपाको सरकार अधिनायकवादी रबैयाका साथ अगाडि बढ्न खोजेको हुँदा लोकतन्त्रको रक्षाको लागि सबै एक ढिक्का हुनुपर्ने समय आएको बताए।
‘कम्युनिष्टको सरकार त निकम्मा सावित भइसकेको छ। अहिले जनताले काँग्रेस खोजिरहेका छन्। काँग्रेसको महत्व बल्ल थाहा पाएका छन् । तर, त्यसका लागि काँग्रेसलाई वडा स्तरवाटै मजबुत बनाउन आवश्यक छ,’ वरिष्ठ नेता पौडेले भने।
नेपाली काँग्रेस राप्ती गाउँपालिकाका सभापति दुर्योधन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका पूर्व मन्त्री दीपक गिरी, सांसद तथा नेता कार्यकर्ताको जमघट थियो। वरिष्ठ नेता पौडेले प्रदेश नं. ६ मा आयोजित प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत तर्फ जाने क्रममा जिल्लाका विभिन्न स्थानमा नेता कार्यकर्तालाई सम्वोधन गर्दैै हिँडेका छन्। यसअघि उनले प्रदेश नं. ५ को भैरवहामा भएको प्रशिक्षण कार्यक्रमलाई पनि सम्वोधन गरेका थिए ।