प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध नगर्ने भएको छ।
सभामुख कृष्णबहादुर महरा र सत्तारूढ नेकपा बाढी पहिरोबारे सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न तयार भएपछि अवरोध हट्ने भएको हो।
यसअघि कांग्रेसले सर्लाहीमा भएका दुई घटनाको संसदीय छानबिन माग गर्दै संसदमा अवरोध गर्दै आएको थियो।
कांग्रेसले गत असार ३० गतेको बैठकमा स्थगन प्रस्ताव दर्ता गराएको थियो। कांग्रेसले संसदको कार्यसूचीका सबै विषय हटाएर बाढी पहिरोमा छलफलको प्रस्ताव राखेको थियो। तर स्थगन प्रस्ताव अघि गृहमन्त्रीले बोल्न पाउनुपर्ने अडान सत्तापक्षले राखेपछि सूचनामार्फत् बैठक स्थगित भएको थियो।
प्रतिनिधिसभामा छलफलका लागि कांग्रेसले नयाँ सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने र त्यसैमा छलफल गर्ने तयारी भैरहेको एक सांसदले बताए।
तर नेकपाका सांसदहरूले भने सार्वजनिक महत्वको प्रस्तावमा छलफलपछि सदन सुचारु गर्न कांग्रेसले सुनिश्चितता दिलाउनुपर्ने अडान राखेका छन्।
प्रतिनिधिसभा बैठक साढे २ बजेका लागि तय भएको छ।