नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सघाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा आवद्ध एक स्वास्थ्यकर्मीलाई प्रहरीले छाडेको छ।
गोरखा नगरपालिका १० छेपेटारस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेव रामचन्द्र पाण्डेलाई प्रहरीले सोमबार छाडेको हो।
विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार पाण्डेलाई पक्राउ गरेको थियो।
गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले आवश्यक अनुसन्धानपछि तारेखमा रहने गरी पाण्डेलाई छाडिएको जानकारी दिए। ‘सोधपुछ गरेर तारेखमा छाडेका छौं,’ अधिकारीले सेतोपाटीसँग भने।
छेपेटार निवासी पाण्डे कांग्रेस शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ गोरखा उपाध्यक्ष, निजामती कर्मचारी युनियन (संघ) को जिल्ला सदस्य र स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश उपाध्यक्ष छन्।