नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार दिन मधेश बसेर काठमाडौं फर्केका छन्।
बाढीपहिरो र डुबानले प्रदेश नम्बर २ का जिल्ला डुबानमा पर्दा जनधन क्षति भएपछि उद्धार र राहतमा ध्यान दिन कांग्रेसले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव लगेको थियो।
तर संसदमा बाढीपहिरो क्षतिबारे छलफल हुन पाएन। साउन ७ गतेसम्मका लागि संसद बैठक स्थगित भएपछि बुधबार मधेश झरेका देउवा शनिबार काठमाडौं फर्केका छन्।
सभापति देउवाले रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी जिल्लाका डुवानपीडित भेट गरी उनीहरुका समस्या सुनेका थिए। ‘बाढी प्रभावित ठाउँमा पुगेर समस्याबारे जानकारी लियौं,’ सभापति देउवाका सहयोगी भानु देउवाले सेतोपाटीसँग भने।
यसपटक देउवाले पार्टी तथा संगठनबारे भने मधेशमा खासै छलफल गरेनन्।
‘बाढीपीडितको उद्धार र राहत व्यवस्थित ढंगले भएको छ/छैन अनुगमन पनि भयो,’ उनले भने।
सरकारले उद्धार र राहत वितरण व्यवस्थित तवरले गर्छ/गर्दैन प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेसले अनुगमन गर्ने देउवाले बताएका थिए। बाढीपीडितसँगको भेटमा देउवाले केन्द्र सरकार डुबान पीडितप्रति संवेदनशील नभएको बताएका थिए।
‘मन्त्रीहरू हेलिकप्टरबाट निरीक्षण गरेर फर्किए। हामी स्थलगत निरीक्षण गर्दैछौं। सरकार डुबान पीडितप्रति संवेदनशील छैन। संसदमा छलफल गर्न सत्तापक्ष मानेन,’ सिरहास्थित कमला नदीको बाढीबाट पीडित भएकासँगको भेटमा देउवाले भनेका थिए।
देउवाले रौतहटको गौर बजार डुबानमा परेको प्रसंगमा भारतीय पक्षसँग सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन्।
दशगजामा भारतले बाँध बनाउँदा नेपालतर्फ डुबान भएको भन्दै देउवाले कूटनीतिक तवरबाट समस्याको समाधान खोज्नुपर्ने बताएका थिए।
बाढी प्रभावितलाई राहत दिन कांग्रेस संसदीय दलले पाँच दिनको पारिश्रमिक दिने बताएको छ।