पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणका लागि शनिबार वासिङ्टन पुगेका छन्।
प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका छन्।
उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।
आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन्।
वाससिङटनमा पनि उनी पाँचतारे होटलमा नभई राजदूत निवासमा बसेका छन्।
पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्।
अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्।
राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने तयारी भइरहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग केही दिनअघि स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री खानले आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गर्नेछन्।
सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्लाएक्लै वार्ता गर्ने तय भएको छ।
गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्।
उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्।
खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।