नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पद, शक्ति र सम्पत्तिका लागि पार्टीमा जे पनि गरिदिने प्रवृत्ति बढेको बताएका छन्।
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य, गोरखाका पूराना बामपन्थी नेता श्रीनाथ अधिकारीलाई श्रद्धाञ्जली दिन शनिबार गोरखामा भएको सभामा श्रेष्ठले नेकपा ‘दाई कांग्रेस’ हुँदै गएको बताए।
‘पोस्ट, पावर र पपर्टीका लागि जे पनि गरिदिने?,’ उनले प्रश्न गरे, ‘हामी ठूलो कांग्रेस हुन खोजेर भइँदैन। कम्युनिष्ट क्रान्तिकारी बुझेर जनताले हामीलाई शक्तिशाली बनाएको हो।’
उनले पब्लिक, प्राइभेट साझेदारी गर्न पीपीपी आवश्यक भए पनि पार्टीभित्र अर्कै रुपमा बुझ्न थालिनु गलत भएको बताए। ‘हामी सम्पूर्ण रुपले पब्लिक प्राइभेट पार्टनरसीपमा लाग्नुपर्ने हो तर नीति र आचरणले हामीलाई दाई कांग्रेस हुन खोजेको देखियो।’ पार्टीले वैचारिक र साँस्कृतिक समस्या हल गरी प्रष्ट भएर अघि बढ्नु पर्ने श्रेष्ठले बताए।
नेकपाभित्र महत्वपूर्ण छ विभागमा श्रेष्ठले स्कुल विभाग पाउनुपर्ने माग गरिराखेका छन्। यो विभाग पूर्व एमालेले पाएको र त्यसमा ईश्वर पोखरेललाई पठाउने सहमति भए पनि पूर्वएमाओवादी पक्षले पुन: दाबी गरेपछि सहमति हुन सकेको छैन।