जर्मन चान्सलर एन्जेला मार्केलले अमेरिकी अल्पसंख्यक महिला सासंदप्रति ऐक्यबद्धता जनाएकी छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले उनीहरूलाई होच्याउँदै ‘आफ्नो घर फर्कन’ भनेकोमा जर्मन चान्सलर मर्केलले विरोध जनाएकी हुन्।
उनले ट्रम्पको आक्रमणमा परेका ४ महिला सांसदहरुप्रति आफ्नो ऐक्यवद्धता रहेको बताइन् ।
‘मैले आफूलाई त्यो कुराबाट टाढा राख्न खोजेँ र आक्रमणमा परेका महिलाहरूप्रति भने ऐक्यबद्धता महसुस गरेँ,’ मर्केललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
ट्रम्पको अभिव्यक्तिप्रति विश्वका नेताहरूले पनि प्रतिक्रिया जनाएका थिए।
बेलायती प्रधानमन्त्री थेरेसा मेले ट्रम्पको अभिव्यक्ति अस्वीकार्य भएको बताइसकेकी छन्।
न्युजिल्यान्डका प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले ट्रम्पको अभिव्यक्तिमा आफू पूर्ण रूपमा असहमत रहेको बताएकी छन्।
ट्रम्पको ट्वीटबारे क्यानडाका प्रधानमन्त्रीले जस्टिन ट्रुडोले भनेका छन्-हामी क्यानडामा त्यस्तो गर्दैनौं, क्यानाडियन भनेको क्यानिडिन नै हुन्छन्।
ट्रम्पको भनाईको आलोचना गर्नेमा जर्मन चान्सल मर्केल पनि थपिइन्।
ट्रम्पले अमेरिकी महिला सांसदहरु एलेक्जान्ड्रिया ओकासियो र्कोटेज, राशिदा तलाइब, आयान्ना प्रेस्ले र इल्हान ओमरलाई केही दिन अघि आफ्नो घर फर्कन भनेका थिए।
सोमबार राष्ट्रपति ट्रम्पले श्रृंखलावद्ध ट्वीट गर्दै चार डेमोक्र्याटिक सांसदहरूलाई अमेरिका र इजरायलविरोधी कम्युनिष्टको संज्ञा दिएका थिए।
उनले भनेका थिए- हामी सबैलाई थाहा छ एलेक्जेन्ड्रिया अकासियो कोर्टेज र उनको भीड एक कम्युनिष्ट समूह हो। उनीहरू इजरायललाई घृणा गर्छन्, उनीहरू हाम्रो देशलाई पनि घृणा गर्छन्।
उनले ती आप्रवासी महिला सांसदहरूलाई अमेरिका मन नपर्ने भए जहाँबाट आएको हो त्यही फर्के हुने सुझाव दिएका थिए।
‘जहाँको सरकारले काम गर्न नसकेर व्यवस्था पूर्ण रूपमा ध्वस्त भएका मुलुकबाट आएका ती ‘प्रगतिशील’ महिलाहरू संसारकै महान् तथा शक्तिशाली मुलुक अमेरिकाको सरकार कसरी चल्नुपर्छ भनेर सुझाव दिइरहेका छन्। उनीहरू आफू जहाँबाट आएका हुन् त्यहीँको समस्या समाधान गर्न किन जाँदैनन्,’ ट्रम्पले लेखेका थिए,‘ यो अमेरिकालाई माया गर्ने विषय हो। केही मानिसहरू अमेरिकालाई घृणा गर्छन्। उनीहरू इजरायलविरोधी, अलकायदा समर्थक, ९/११ को घटनाले कसैले केही गर्यो भनेर प्रतिक्रिया दिन्छन्। हामी कहिल्यै पनि साम्यवादी र कम्युनिष्ट मुलुक हुँदैनौं। यदि तिमी यहाँ खुसी छैनौं भने तिमी जान सक्छौ। यो तिमीहरूको रोजाइ हो।’
‘आफूले प्रयोग गरेको भाषा र भनेका तुच्छ कुराका लागि यी महिला सांसदहरूले हाम्रो राष्ट्रसँग, इजरायलवासीसँग र राष्ट्रपति कार्यालयसँग पनि कहिले माफी माग्लान्? धेरै मानिस उनीहरू र उनीहरूको भयानक अनि घृणाजनक कामसँग रिसाएका छन्,’ ट्रम्पले ट्वीटरमा लेखेका थिए।
ट्रम्पले ती महिला सांसदहरूले सुरूदेखि नै आफूलाई महाअभियोग लगाएर डेमोक्य्राटिक पार्टीको अनुहार बन्न चाहेको पनि पनि दाबी गरेका थिए। उनले उनीहरूका नीतिले डेमोक्य्राटिक पार्टीमात्र होइन देशलाई नै खत्तम पार्ने पनि उल्लेख गरेका थिए।
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त भनाई विरूद्ध खेद प्रस्ताव पारित गरिसकेको छ।
ती महिला सांसदहरूले पनि ट्रम्पलाई जातिवादी भएको टिप्पणी गरेका थिए।
केही दिनअघि उनीहरू अमेरिकाको दक्षिण सीमामा रहेको हिरासत केन्द्रमा गएका थिए। त्यहाँका बन्दीले आफूहरूले ट्वाइलेटको पानी पिइरहेको सुनाएको भन्दै संसदीय समितिमा उनीहरूले ट्रम्पको नीतिको आलोचना गरेका थिए।
चार जनामध्ये ओमरबाहेक तीन जना अमेरिकामै जन्मेका हुन् भने ओमर १२ वर्षकी हुँदा सोमालियाबाट शरणार्थीका रूपमा अमेरिका आएका थिइन्।