नेत्रविक्रम चन्द (नेकपा) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीस्थित निलम होटल परिसरमा बिहीबार साँझ भएको बम विस्फोटको जिम्मेवारी लिएको छ।
विप्लव समूहका सेती-महाकाली ब्यूरोका ईञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर बम बिस्फोटमा पार्टीका सदस्य रामबहादुर सिंह (राजेश) को मृत्यु भएको उल्लेख गरेका छन्।
धनगढी उपमहानगर शहीद गेट नजिक पार्टीको कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बिस्फोटक पदार्थ विस्फोट हुँदा सिंहको मृत्यु भएको निर्माणले विज्ञप्तिमा जनाएका छन्।
बम विस्फोटमा परी सिंहको ढाड र खुट्टामा गहिरो चोट लागेको थियो। मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा सिंहको बिहीबार राति मृत्यु भएको थियो।
विस्फोटमा परी घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, लक्ष्मण सेरेला, जितेन्द्र यादव, मोविन खानको भने उपचार भइरहेको छ।