सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरूलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
पूर्वगृहमन्त्री समेत रहेका शर्माले हरेक आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका हुन्।
बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानबारे कर्मचारीहरूलाई आवश्यक तालिम नदिएका कारण अहिले कानुन निर्माणका कठिनाइ भइरहेकोतर्फ पनि सचेत गराए।
उनले कर्मचारी तथा संस्थाहरूको पनि क्षमता अभिवृद्धिका लागि हरेक आर्थिक वर्षको पहिलो साता अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने स्पष्ट पारे।
नेता शर्माले कर्मचारीहरूलाई नयाँ संविधानको स्पिरिटका विषयमा पनि तालिम दिन जरूरी रहेको बताए।
लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्तका बारेमा कर्मचारीहरूलाई आवश्यक तालिम नदिएका कारण त्यसले अहिले आएर विवाद सृजना गरिरहेको नेता शर्माको बुझाइ छ।