गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक-२०७६ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०७६’ लाई प्रमाणीकरण गरेका छन्।
गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले मंगलबार प्रमाणीकरण गरेका हुन्।
गण्डकी प्रदेश सभाको असार २० गते बसेको बैठकले पारित गरेको विधेयकलाई प्रदेश सभा सचिवलायले असार २६ गते प्रमाणीकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।
दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख नेत्रनाथ अधिकारीले असार २० गते नै प्रमाणित गरेका थिए।
नेपालको संविधान धारा १९९ को उपधारा १ मा प्रदेश सभाले पारित गरेका विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गर्नुपर्ने प्रावधान छ।
प्रदेश प्रमुख कुँवरले प्रदेश सभाका सभामुखबाट प्रमाणित दुवै विधेयका पाँच/पाँचप्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन्।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेका हुन्।
सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका विधेयकमध्ये एकप्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एकप्रति पठाइएको बताए।