प्रतिनिधिसभाको बैठक सोमबार एक साताका लागि स्थगित भयो।
संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले 'बाढी, पहिरो र डुबान पीडितलाई सहयोग, समन्वय र अनुगमन गर्नुपर्ने भएकाले सांसदहरू जिल्ला जानुपर्ने भन्दै बैठक स्थगित भएको' सूचना टाँसिदिए।
तर सूचना आउनुअघि नै सांसदहरू १ बजेको बैठकका लागि बानेश्वरस्थित प्रतिनिधिसभा पुगिसकेका थिए। संसद भवन पुगेका सत्तारूढ नेकपाकै सांसद माधवकुमार नेपालले 'आफूलाई बैठक स्थगित हुनुको कारण थाहै नभएको' प्रतिक्रिया दिए।
'के कारणले हो मलाई थाहा भएन। थाहा नभएको कुरा थाहा छैन भन्नुपर्छ', नेता नेपालले भने, 'ढाँटढुँट किन गर्नु।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालका अनुसार सोमबार बाढी र पहिरोको समस्याबारे छलफलका लागि प्रतिनिधिसभा बैठक सुचारु गराउन कांग्रेस सहमत भएको थियो।
'हामीले अन्य कार्यसूचीका विषय हटाउँ भनेका थियौं', रिजालले सेतोपाटीसँग भने, 'सभामुखले गृहमन्त्रीले जवाफ दिने कार्यक्रम राख्छु भन्नु भएको थियो। तर एक्कासी सूचना आयो।’
नेकपाका प्रमुख सचेतक देव गुरुङले भने कांग्रेसले ढिलागरी प्रतिनिधिसभाको कार्यसूची स्थगन गरी आफ्नो प्रस्तावमा छलफल गर्ने अडान लिएका कारण समस्या भएको बताए।
'गृहमन्त्रीले बाढी पहिरोको घटनाबारे बोल्न समय माग्नु भएको थियो। सभामुखले सुरूआतमा गृहमन्त्रीलाई समय दिउँ भन्नु भएको थियो', गुरुङले भने, 'तर कांग्रेसले आफ्नो स्थगन प्रस्ताव सुरूमा आउनुपर्ने माग राख्यो।’
सभामुख महराले सुरूआतमा गृहमन्त्रीले बोल्ने त्यसपछि कांग्रेसको प्रस्ताव र सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्ने र अन्तिममा विशेष प्रस्ताव पारित गर्ने गरी कार्यसूची मिलाएको गुरुङले दाबी गरे। 'सभामुखले कांग्रेसको प्रस्ताव र गृहमन्त्रीले बोल्न खोजेको विषय एउटै भएकाले सुरूआतमा गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गर्नुभयो', गुरुङले भने, 'तर कांग्रेसले गृहमन्त्रीअघि बोल्न माग्यो।’
सचेतक गुरुङले आफूहरूले पनि सभामुखको प्रस्ताव अनुसार प्रक्रिया अगाडि बढ्नुपर्ने धारणा राखेको बताए।
कांग्रेस सांसद रिजालले भने आफूले बाढीपहिरो र डुबानका समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको तर छलफलका लागि गरिएको प्रस्ताव लत्याइएको बताए।
प्रतिनिधिसभाको कार्यव्यवस्था समितिका एक सदस्यका अनुसार अघिल्लो बैठकमा कांग्रेसले अवरोध गरेका कारण सत्तारूढ नेकपा सशंकित बनेपछि बैठक अगाडि नबढेको हो।
प्रतिनिधिसभाको गत असार २४ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्लाहीमा भएका दुई घटनाका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको थियो।
सत्तारूढ नेकपा भने संसदीय छानबिन समिति गठन गर्ने विषयमा विपक्षमा उभिँदै आएको छ।
त्यसो त सत्तारूढ नेकपाकै सांसदले पनि साउन ८ गतेसम्मका लागि बैठक सूचनामार्फत् स्थगित गरिएकोमा असन्तुष्टि जनाएका छन्।
नेकपाका सांसद योगेश भट्टराईले पचासभन्दा बढीले ज्यान गुमाउने घटना भएकाबेला संसदमा छलफल आवश्यक भएको बताए।
उनले बैठक स्थगित गरिएकोमा असन्तुष्टि व्यक्त गरे।
'तराईको डुबान हटाउन हामीले भारतसँग कुरा गर्न सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने जस्ता ज्वलन्त मुद्दा भएका बेला संसद बन्द गरेर जनताको ध्यान अन्यन्त्र मोड्ने र जनप्रतिनिधिमुलक संस्थालाई जानेर नजानेर बदनाम गराउने काम भएको छ', भट्टराईले भने।
उनले प्रतिनिधि सभा स्थगित हुनुको कारण भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नै भएको आरोप लगाए।
उनले सर्लाही घटनालाई लिएर प्रतिनिधि सभा बैठक अवरोध गर्ने कांग्रेसको चेतावनीका कारण बैठक स्थगित भएको बताए।
'अवरोध गर्ने सूचना कार्यव्यवस्था समितिमा दिएपछि नाटक गर्न के संसद गर्ने', भट्टराईले भने, 'सर्लाहीका घटना छाडौं। बाढीपहिरोको विषयमा छलफल गरौं भन्ने हाम्रो प्रस्ताव उहाँहरूले (कांग्रेस) मान्नु भएन।’
नेपाली कांग्रेसले भने संसद चलाउने पूर्वसहमति जनाएर पछि सूचना टाँसिएको घटनाको जिम्मेवार सभामुखलाई देखाएको छ। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले 'छलफल गरेर संसदको ऐक्यवद्धता बाढी पीडितको पक्षमा' देखाउनुपर्ने बेला सभामुखलाई 'कसैले तर्साएको' बताए।
प्रतिनिधि सभाको अर्को बैठक साउन ८ गतेका लागि डाकिएको छ।