प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढीपहिरोमा परेकाहरुको उद्धार र राहत कार्य सरकारले व्यवस्थित ढंगले गर्नुपर्ने बताएका छन्।
सरकारले पीडितको उद्धार र उनीहरुलाई राहत वितरण कत्तिको व्यवस्थित ढंगले गर्न सक्छ? त्यसको अनुगमन कांग्रेसले गर्ने देउवाले बताए।
सोमबार विज्ञप्ति निकालेर सभापति देउवाले भनेका छन्, ‘प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई आग्रह गर्दछु। उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्ष दलका नाताले कांग्रेसले गर्ने जानकारी गराउँछु।’
उनले पार्टीका सबै तहका नेताकार्यकर्तालाई बाढीपहिरो र डुवानमा परेकाहरुको उद्धार तथा राहत वितरणका कार्यमा सरिक हुन निर्देशन दिएका छन्। वर्षापछिको विपदकै कारण पार्टीले जारी केन्द्रीय समिति बैठक स्थगित गरेको देउवाको भनाइ छ। उनले विपदका बेला सबै एकजुट भएर पीडितको सहयोगमा जुट्न आग्रह गरेका छन्।
‘विपदको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनीतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी-दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको कर्तव्य हो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।