प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको समन्वयमा सर्लाहीस्थित मलंगवा-भारत सीमामा पानीको बहाव खुलाइएको बताएका छन्।
सीमा क्षेत्रमा पानीको बहाव थुनिएपछि शुक्रबार बिहानैदेखि मलंगवा बजारका केही ठाउँ डुबान परेको थियो।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बाढी, पहिरो गएका क्षेत्रमा उद्धारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरेको बताएका छन्।
‘सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मलंगवा नगरपालिकाको गोरखकाली भन्ने ठाउँमा थुनिएको पानीको बहावलाई खुलाइएको बताए।
‘नेपाल-भारत सीमा क्षेत्रमा रहेको खोल्सीमा जलकुम्भीलगायत झार र गेग्रानले बहाव रोकिएको थियो। भारतसँग समन्वय गरी अहिले पानी खोलिसकियो,’ उनले सेतोपाटीसँग भने, ‘प्रशासन कार्यालयमा पनि घुँडासम्म पानी तालिएको थियो।’
बागमती नदीका विभिन्न ठाउँमा बाँध फुटेर बस्ती जोखिममा परेको उनले बताए।
‘रामनगर, रौतहट क्षेत्र, छतकौनलगायत सात ठाउँमा बाँध फुटेको छ,’ उनले भने, ‘सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौं। जोखिममा परेका बस्तीबाट मानिसलाई सुरक्षित स्थान सारिएको छ।’