सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन्।
मन्त्री बाँस्कोटाले मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै दुई देशका सरकारबीच पत्रहरू आउने/जाने कुरा स्वभाविक भएको बताए। यसलाई अन्यथा लिन नहुने उनले तर्क गरे।
‘सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुन्छ। सरकारका बीचमा पत्रहरू आउने/जाने गर्छन्’, मन्त्री बाँस्कोटाले भने, ‘त्यस्ता विषयमा हुने पत्रको आदान-प्रदानलाई सरकारले स्वभाविकै लिएको छ। त्यसलाई अन्यथा लिनु हुँदैन।’
दुई देशका सीमा जोडिएकोले उत्पादनहरू आदानप्रदान हुने र त्यस्ता पत्र आदान-प्रदान पनि हुने उनले बताए।
उनले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको स्पष्ट पारे।
उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको पनि बताउँदै सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए।