राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महानिर्देशक काफ्लेले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरेका हुन्।
त्यसैगरी विभागले भोलि (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ।
विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए।
उनले आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने प्रतिवद्धता व्यक्त गरे।
संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरूलाई सरकारी सेवामा लिने आधारको रूपमा राष्ट्रिय परिचयपत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो।
गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले सो काम आगामी २ वर्षभित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ।
गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते पाँचथरको फिदिम नगरपालिका– शान्तिपुरकी १०१ वर्षीया भगवती भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरणको सुरूआत गरेका थिए।
तस्बिरहरू : नारायण महर्जन/ सेतोपाटी