प्रदेश २ की प्रदेशसभा सदस्य चमेली देवी दासले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।
एक सेवाग्राहीको नागरिकता बनाउन आनाकानी गरेपछि आफूले नागरिकता बनाई दिन आग्रह गरेपछि प्रजिअ कँडेलले अपशब्द प्रयोग गरेको उनले आरोप लगाइन्।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर–६ बस्ने ६५ वर्षीया वृद्धा किशोरी यादवले नागरिकताको प्रतिलिपि लिनका लागि करिब एक हप्तादेखि जिल्ला प्रशासन कार्यालयमा धाउँदा पनि प्रतिलिपि नपाएपछि उनको सहयोगका लागि प्रदेशसभा सदस्य दास जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्।
प्रदेशसभा सदस्य दासले नागरिकता फाँटमा के कारणले प्रतिलिपि दिन ढिलाइ भइरहेको सोध्दा कर्मचारीले नटेरेपछि प्रमुख जिल्ला अधिकारी कँडेलको कार्यकक्षमा पुगेकी थिइन्।
त्यहाँ दासले कर्मचारीको गुनासो पोख्न लाग्दा उनीसँग उल्टै अभद्र व्यवहार गरिएको उनको आरोप छ।
‘तलको फाँटका कर्मचारीले मलाई टेरेनन्, बाध्य भएर सिडिओको कार्यकक्षमा पुगें। त्यहाँ मैले सिडिओलाई के कारणले नागरिकता दिनमा आलटाल भइरहेको छ? भनेर प्रश्न गरें,’ उनले भनिन्, ‘सिडिओ पहिलादेखि नै आक्रोशित देखिएका थिए। मेरो प्रश्नको जवाफमा सिडिओले बाहिर जानुस् बोलाएपछि आउनु होला भनेर आक्रोशित मुद्रामा जवाफ फर्काए।’
उनले थपिन्, ‘कर्मचारीले नटेरेपछि तपाईंकहाँ आएको हुँ। तपाईं पनि त्यस्तो कुरा गर्नुहुन्छ, त्यसपछि सिडिओले महिला प्रहरी लगाएर बाहिर निकाल्न धम्की दिए र अपशब्द समेत प्रयोग गरे।
प्रमुख जिल्ला अधिकारी कँडेलले भने दासले नै उल्टै गलत व्यवहार प्रदर्शन गरेको जिकिर गरे।
प्रजिअ कँडेलले भने, ‘उनले जे पनि आरोप लगाउन सक्नु हुन्छ तर मलाई यति मात्रै भन्नु छ मैले माननीयजीसँग कुनै किसिमको दुर्व्यवहार गरेको छैन।’