नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले घोराही उपमहानगरपालिकाको आइबारको कार्यपालिका बैठक बहिस्कार गरेका छन्।
कांग्रेसबाट निर्वाचित उपमहानगरका ६ वडा अध्यक्षहरूले बैंठक बहिस्कार गरेका हुन्। प्रक्रियाविना वडाहरुसँग समन्वय नै नगरी एकलौटी ढंगले योजना ल्याइएको कांग्रेस वडा अध्यक्ष चित्रबहादुर डाँगी(निर्मलले) बताए। योजना छनोट गर्नका लागि आइतबार कार्यपालिकाको बैठक बोलाइएको थियो।
‘वडा अध्यक्षसँग समन्वय नै नगरी एकलौटी ढंगले प्रक्रिया मिचेर वडाका योजना ल्याइन्छ भने त्यहाँ हाम्रो के काम?’ अध्यक्ष डाँगीले भने ‘वडाको अधिकार खोस्ने अधिकार नगरप्रमुखलाई छैन।’ घोराहीमा कुल १९ वडाहरु मध्य ६ वटा वडामा काँग्रेसले जितेको छ।
समन्वय नै नगरी मनोमानी ढंगले अगाडि बढ्ने नगरप्रमुख नरुलाल चौधरीको विरोधमा काँग्रेसबाट निर्वाचित सबैले कार्यापालिका बहिस्कार गरेको अध्यक्ष डाँगीले बताए।
आइतबारको कार्यापालिका बहिस्कार गर्ने वडा अध्यक्षहरुमा वडा नम्वर ३ का माधव चौधरी, ५ का विष्णुमणी दाहाल, ६ का रेवबहादुर बुढाथोकी, ८ का चन्द्रप्रसाद चौधरी, १० का चित्रबहादुर डाँगी(निर्मल) र १५ का अध्यक्ष रमेशकुमार पाण्डे छन्।
वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले बैठकमा समय लिएर धारणा राखेपछि काँग्रेसका वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेर निस्किएका थिए। ‘वडामा जाँदै नगएर होटेलमा आफुनिकटका वडा अध्यक्षसँग बसेर तयार पारिएको योजना हामीलाई स्वीकार्य छैन,’ अध्यक्ष डाँगीले थपे ‘प्रक्रिया विपरित ल्याइएको योजनामा हामी साक्षी किन बस्ने?’
वडा अध्यक्ष डाँगीले हरेक वडालाई एक करोड दिने निर्णय गरिए पनि मेयर र उपमेयरले आफू निकटका वडा अध्यक्षलाई भित्रभित्रै थप रकम दिने गरेको आरोप लगाए। ‘गत साल पनि आफू निकटका अध्यक्षहरुलाई भित्र भित्रै थप बजेट दिइएको छ, यसपटक पनि त्यही गर्ने षडन्त्र भइरहेको छ,’ वडा अध्यक्ष डाँगीले भने ‘त्यसैले बजेटको सिलिङ बढाउनु पर्छ भन्ने हाम्रो अर्को माग पनि हो।’
त्यस्तै वडा तहमा पनि उपमेयर भलिवल प्रतियोगिता, मेयर रक्तसंचार कार्यक्रम, उपमेयर आमा सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमलाई महत्वमा राखेर ल्याउने योजनाहरु भन्दा नगर रक्त संचार कार्यक्रम, नगर आमा सुरक्षा कार्यक्रम, नगर भलिवल कार्यक्रम राख्नुपर्ने आफूहरुको माग रहेको डाँगीले बताए।
‘संस्थानको नाम राखे त भैगो नि, किन व्यक्तिको नाम जोड्न आवश्यक छ,’ डाँगीले भने। योजना बहुमतले पारित गरेमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ उनले बताए।