काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गर्ने भएको छ।
काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दबाब आइरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेसल टाक्स फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो।
बिहीबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याउने घोषणा पनि गरे।
‘वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने’ पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
मेयर शाक्यले सहरी यातायात व्यवस्थापन नीति अन्तर्गत काठमाडौंको सम्भाव्यता देखिएका स्थानहरूको पहिचान गरी साइकल लेन बनाउने नीति पनि अघि सारिएको बताए।
महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा संवर्द्धन र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौंभित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन गर्न ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने पनि समावेश गरिएको छ।
मेयर शाक्यले आगामी आर्थिक वर्ष भित्र काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने पनि बताए।
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको योगदानलाई सम्मान गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ।
मेयर शाक्यले प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरूलाई गरेको सम्मान र प्रजातन्त्रका लागि सिंहले पुर्याएका योगदानको उचित कदर गर्दै सो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।
नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ।
त्यसैगरी सूचना तथा सञ्चार नीति अन्तरगत निःशुल्क वाइफाइ सेवा सञ्चालनको कामलाई विस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरी सञ्चालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ। मेयर शाक्यले महानगरपालिकाद्धारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको पनि बताए।
काठमाडौंलाई प्रदूषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ।