सरकारले गुठी विधेयक फिर्ता लिने घोषणालाई सकारात्मक रूपमा लिँदै कांग्रेसले थप चारवटा विधेयकमाथि भने आपत्ति जनाएको छ।
कांग्रेसले मानव अधिकार आयोगसम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकको विरोध गरेको हो।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले
'मिडिया काउन्सिल विधेयकको दण्डको व्यवस्थाले मिडियालाई धम्काउने/तर्साउने काम गरेको' बताए।
उनले सो व्यवस्थाले बोल्ने र लेख्ने स्वतन्त्रता खोस्न खोजेको बताए।
'प्रजातन्त्रमा राम्रो लेखे, खराब लेखे उही जिम्मेवार हुन्छ। त्यसमा दण्डको व्यवस्था गरेर मान्छे बोल्न लेख्न डराउने भयो', देउवाले भने, 'मिडियामाथिको आक्रमण प्रजातन्त्रमाथिको आक्रमण हो। जुन देशमा फ्री प्रेस छैन त्यहाँ डेमोक्रेसी चल्दैन।’
उनले मिडियामा प्रकाशित र प्रसारित सामाग्रीको जनता र पाठकले 'जज' गर्ने बताए।
'प्रेसले लेख्दैमा खतम भैहाल्छ भन्ने होइन', देउवा भने।
उनले सूचना प्रविधि विधेयकमा पनि 'अनलाइन' रोक्न खोजिएको बताए। 'अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ', देउवाले भने, 'सिभिल लिबर्टी जुन देशमा बोल्न/लेख्न पाँइदैन। प्रजातन्त्र माथिको आक्रमण हो।’
देउवाले सूचना तथा प्रविधि विधेयकको विरोध गरे पनि व्याख्या भने गलत गरे। उनले सूचनाको हकसम्बन्धी विधेयकको रूपमा 'सूचनाको हक रोक्ने' विधेयकका रूपमा अर्थ्याए। 'चाहेको सूचना माग्ने अधिकार छ', देउवाले टिप्पणी गरे।
उनले मानव अधिकार आयोगलाई महान्यायाधीवक्ता मातहत राख्न खोजिएकोमा आपत्ति जनाए।
'मानव अधिकार आयोग संसारभर स्वतन्त्र हुन्छ। त्यसलाई एटर्नी जनरलको मुनि तान्न पाइन्छ?', देउवाले भने, 'मानव अधिकार आयोग स्वतन्त्र र निष्पक्ष हुन्छ। त्यो सबभन्दा पावरफूल हुन्छ। त्यसमा ‘कू’ गरेर प्रजातन्त्रमाथि अर्को आक्रमण भएको छ।’
उनले राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमार्फत् प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार लिन खोजेको बताए।
'प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने हो', देउवाले भने, 'आफ्नै रक्षा मन्त्रीलाई अविश्वास गर्ने। देशको सुरक्षा परिषद्लाई अविश्वास गर्ने अवस्थामा देश चल्छ।’
उनले सेना एक्लै ह्विममा नचल्ने बताए।
'सेनामाथि मात्र होइन रक्षामन्त्री र गृहमन्त्रीमाथि अविश्वास गरेको हो। रक्षा सचिव, मुख्यसचिव र सेनामाथि अविश्वास गरेको हो', देउवाले भने, 'अविश्वास गरेको होइन भने किन चाहियो यो अहिले।’
उनले सरकारले तथा प्रधानमन्त्रीले सम्पूर्णरूपमा नियन्त्रण गर्न खोजेको बताए। साथै सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।