प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै देउवाले संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनु पर्ने बताए।
‘जहाँ पनि विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्छ। तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन्,’ देउवाले भने, ‘नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेको छ।’
आजको बैठकको सुरूमा देउवाले बोलेका थिए तर प्रधानमन्त्री ओली भने बैठकमा सहभागी थिएनन्।
देउवाले मंगलबारको बैठकमा आफूले बोल्न पहिले समय मागेको बताए।
‘मैले समय मागेको प्रधानमन्त्रीले पनि माग्नुभएछ राम्रो भयो, मेरो जवाफ दिन पाउनुहुन्थ्यो,’ देउवाले भने,‘संसारभरि सदन विपक्षीको हुन्छ। यहाँ उल्टो भएको छ।’
उनले प्रतिपक्षीले पहिला बोल्न पाउनु पर्ने तर्क पनि गरे।
‘पहिला बोल्नमा प्रतिबन्ध लगाइन्छ। प्रधानमन्त्री बोल्ने .. कोही बोल्न पाइन्न, यो पनि कहीँ कुरा हुन्छ,’ देउवाले भने, ‘जहाँपनि संसारमा पहिला विपक्षीले बोल्छ। मैले पहिले नै समय मागेको थिएँ। हिजो जबरजस्ती बोल्न खोज्नुभयो। त्यसको हामीले विरोध गरेका हौं।’
प्रधानमन्त्रीभन्दा पहिला देउवा बोल्न पाउनु पर्छ भन्दै कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठक अवरूद्ध गरेको थियो। प्रधानमन्त्री ओली बोल्नका लागि रोष्ट्रममा गइसकेका बेला कांग्रेस सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए।
देउवाले मंगलबारको बैठकमा आफूले गुठीको विषयमा मात्र नभई धेरै विषयमा बोल्न खोजेको बताए।
‘संसद चलेको बेला प्रस्तावित विधेयक बाहिर गएर फिर्ता लिन मिल्छ। त्यो पनि प्रधानमन्त्रीले फिर्ता लिने होइन,’ देउवाले भने, ‘मन्त्रीले लिने हो। जुन मन्त्रालयले दिएको हो। यही सदनबाट लिएको भए भैहाल्थ्यो नि। कहाँको संसदीय व्यवस्था हो यो।’
उनले आफू २०४८ सालदेखि संसदमा रहेको बताए।
उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बोल्न नदिएर रोष्ट्रमबाट लडेको उल्लेख गर्दै विगतमा ४८ दिनसम्म संसद अवरोध भएको स्मरण गरे।
‘जहाँ पनि सवाल जवाफ दिने प्रधानमन्त्रीको काम हो,’ देउवाले भने, 'अपोजिसन स्पिक्स, गभर्मेन्ट एक्ट्स (प्रतिपक्षी बोल्छ, सरकारले काम गर्छ)।’
सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने प्रजातन्त्र हुन नसक्ने उनले बताए।
‘मैले बोलेपछि बोलेको भए हाल्थ्यो नि,’ देउवाले भने, ‘यो बलमिच्याइँ चल्दैन। हामी कुनै हालतमा मान्न तयार छैनौँ।’
संसदमा बोल्न नपाई फर्किएका प्रधानमन्त्रील साँझ आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा उनले लामो संसदीय अनुभव भएका देउवा प्रधानमन्त्रीले बोल्न खोज्दा रोष्ट्रम घेर्न गएको देखेर आफू आश्चार्यचकित भएको बताएका थिए।
देउवाले दर्ता भएका विधेयक फिर्ता लिएकोलाई पोजेटिभ रुपमा लिएको बताए। 'तर संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता हुनुपर्थ्यो', देउवाले भने, 'मैले माग गर्ने हो। माग गर्नासाथ मान्यो भन्ने किन पर्थ्यो, मेरा अरु पनि माग छन् नि । शेरबहादुरले माग्यो मैले दिनुपर्ने भनेर डराइहाल्नुपर्ने।’
उनले प्रतिपक्षको कामै बोल्ने भएको बताए। 'हाम्रो कामै बोल्ने काम हो। दिने कुरा छैन नि । हामी सत्तापक्ष हैन नि। त्यस्तो उ गर्नुपर्ने के थियो', देउवाले भने।
यी पनि :
संसदमा कांग्रेसको अर्घेल्याइँ
देउवाको व्यवहारले आश्चार्यचकित भएँ: प्रधानमन्त्री ओली