अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ।
ट्रम्पले ट्वीट गर्दै टेलिफोन वार्ता भएको पुष्टि गरेका छन्। उनले दुई राष्ट्रपतिबीच आगामी साता जापानको ओसाकामा हुने जी-२० राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा व्यापार वार्ता हुने पनि जनाएका छन्।
सो वार्ताअघि नै अमेरिका र चीनका प्रतिनिधिबीच अवरूद्ध व्यापार वार्ता सुरू हुनेछ।
चीनले पनि जापानमा दुई राष्ट्रपतिबीच भेट हुने र त्यसको तयारीका लागि दुबै देशका व्यापार प्रतिनिधिबीच छलफल हुने पुष्टि गरेको छ।
पछिल्लो एक महिनादेखि अमेरिका र चीनबीचको व्यापार वार्ता अवरूद्ध छ। भएका सहमतिबाट चीन पछि फर्केको आरोप अमेरिकाले लगाएपछि वार्ता भंग भएको थियो।
विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच ‘व्यापार युद्ध’ चर्किएपछि विश्व सेयर बजारमा ठूलो गिरावट आएको छ। यो युद्ध चर्किँदै गयो भने विश्व अर्थतन्त्रमा मन्दी आउने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन्।
दुई राष्ट्रपति जापानमा भेटने र दुबै मुलुकका प्रतिनिधिबीच व्यापार वार्ता सुरू हुने खबरले विश्वका प्रमुख सेयर बजारमा बुधबार राम्रो सुधार भएको छ।
तर अमेरिका र चीन तत्काल सहमतिमा पुग्न सक्छन् भन्नेमा आशंका छ।
आगामी वर्ष हुने राष्ट्रपति चुनावको प्रचारप्रसार अमेरिकाको फ्लोरिडामा सुरू गर्दै राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार युद्धलाई प्रमुख रूपमा उठाएका छन्।
र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘चीनले गरेको अमेरिकासँगको व्यापार दुरूपयोग रोक्न मैले ऐतिहासिक कदम चालेको छु।’
उनले थपे, ‘यो काम धेरैअघि नै गर्नु पर्ने थियो। अमेरिकाको रोजगारी, सम्पत्ति र प्रविधि चोर्ने दिन अब सकिए।’
अमेरिका र चीनले एक अर्काका देशबाट हुने आयातमा भन्सार शुल्क बढाउँदै लगेका छन्। अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलर बराबारका सामानमा २५ प्रतिशत भन्सार शुल्क बढाएको छ भने चीनले अमेरिकाबाट आयात हुने ११० अर्ब बराबरका सामानमा भन्सार २५ प्रतिशत भन्सार शुल्क लगाएको छ।
दुई देशबीचको व्यापार वार्तामा प्रगति नभए चीनबाट आयात हुने थप ३०० अर्ब डलर बराबरका सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी ट्रम्पले दिएका छन्।
चीनले पनि अमेरिकाले आफ्नो सम्प्रुभतामाथि नै आँच आउने गरी व्यापार सर्त राखेकाले मान्न नसकिने बताउँदै आएको छ।
व्यापारका साथसाथै भविष्यमा विश्वमा कसको वर्चश्व कायम हुने भन्ने प्रतिस्पर्धामा देखिएका अमेरिका र चीनबीच जारी व्यापार युद्धमा प्रगति हुने थोरैले आशा गरेका छन्।