गत मे ७ मा प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएपछि संसारकै पुरानो लोकतन्त्र बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि रस्काकस्सी सुरू भएको छ।
बेलायतलाई युरोपियन युनियनबाट अलग गर्ने काम सफलतापूर्वक गर्न नसकेपछि मेले राजीनामा दिएकी थिइन।
उनको राजीनामासँगै सत्तारूढ कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्ने प्रक्रिया सुरू भएको छ।
प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अघि देखिएका छन्, पूर्वविदेशमन्त्री तथा बेलायतलाई युरोपियन युनियनबाट अलग गर्नु पर्ने मतका कट्टर हिमायती बोरिस जोन्सन।
बेलायतको कन्जरभेटिभ पार्टीलाई बोलिचालीको भाषा टोरी भनिन्छ। पुरातन कुरालाई पछ्याउने सिद्धान्तलाई टोरिज्म भनिने भएकाले आप्रवासन, वैयक्तिक स्वतन्त्रतालगायत विषयमा परम्परागत विचार बोक्ने भएकाले कैयौं वर्षदेखि कन्जरभेटिभ पार्टीलाई टोरी भन्ने गरिएको हो।
बेलायती व्यवस्थाअनुसार प्रधानमन्त्री बन्न टोरी पार्टीको नेता चुनिनुपर्छ। प्रधानमन्त्री बन्न चाहने उम्मेदवारलाई पहिलो चरणको चुनावमा टोरी सांसदहरूले भोट हाल्छन्।
६ सय ५० सदस्यीय बेलायती संसदमा कन्जरभेटिभ पार्टीका ३ सय १३ सदस्य छन्। पार्टी सांसदहरूले सबैभन्दा धेरै मत दिएका दुई जनामध्येबाट कन्जरभेटिभ पार्टीको सम्मेलनले आफ्नो नेता छान्छ। सो व्यक्ति नै प्रधानमन्त्री बन्छ।
मेको राजीनामापछि १० जना टोरी सांसद प्रधानमन्त्रीको दौडमा थिए।
मंगलबार सकिएको दोस्रो चरणको भोटमा पनि पहिलो चरणमा जस्तै जोन्सनले सबैभन्दा धेरै मत ल्याएका छन्। उनले १२६ मत प्राप्त गर्दा विदेशमन्त्री जेरेमी हन्टले ४६ र तेस्रो हुने वाताबरणमन्त्री माइकल गुभले ४१ मत ल्याएका छन्।
दोस्रो चरणको चुनाव सकिदा अझै छ जना प्रधानमन्त्रीको दौडमा छन्।
सांसदले मत हालेर पठाएका अन्तिम दुई जनामध्येबाट कन्जरभेटिभ पार्टीका १६,००० प्रतिनिधिले आगामी जुलाई २२ मा आफ्नो पार्टीको नेता छान्नेछन्। सो ब्यक्ति नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ।
अहिलेको अवस्था हेर्दा लन्डनका पूर्वमेयर तथा पूर्वविदेशमन्त्री बोरिस सांसदले छान्ने प्रधानमन्त्रीका दुई प्रतिस्पर्धीमध्ये एक हुने पक्का भएको छ। उनी बेलायतको प्रधानमन्त्री बन्ने सम्भावना पनि प्रबल बनेर गएको छ।
बोरिसको जितले विश्व राजनीतिलाई थप अनुदारवादी
मार्गमा लैजाने अडकल गरिएको छ।
चुनावअघि नै बोरिसलाई प्रधानमन्त्रीका रूपमा समर्थन गरेका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले। जुन महिनाको पहिलो साता बेलायत भ्रमणमा आएका ट्रम्पले बोरिसलाई आफ्नो ‘मित्र’ मात्र भनेनन् प्रधानमन्त्रीका रूपमा उनले गजब काम गर्ने पनि बताए।
उनले भने, ‘मैले निकै चासोका साथ यसलाई (चुनावी प्रक्रिया) अध्ययन गरेको छु। विभिन्न उम्मेदवारबारे मलाई थाहा छ। तर मलाई लाग्छ बोरिसले राम्रो काम गर्नेछन्, उनी नै सबैभन्दा उपयुक्त हुन्। मलाई उनी मन पर्छन्। मैले सधैँ उनलाई मन पराएको छु। उनी नेता छानिन्छन् नै भन्ने मलाई थाहा छैन तर उनी निकै राम्रा र तीक्ष्ण व्यक्ति हुन्।’
बेलायत युरोपियन युनियनबाट जसरी पनि अलग हुनुपर्छ भन्ने बोरिसको विचारको ट्रम्पले समर्थन गर्ने गरेका छन्। युरोपबाट अलग भए बेलायत र अमेरीकाबीच आर्थिक सम्बन्ध झनै कसिलो बनाउन सकिने ट्रम्पले बताउँदै आएका छन्।
आप्रवासीलाई कडाइ गर्ने मुद्दामा पनि ट्रम्प र बोरिसको विचार मिल्छ। अमेरिकामा आप्रवासीहरूको आगमन नियन्त्रण गर्न ट्रम्प जसरी प्रतिवद्ध छन्, बोरिस पनि बेलायतमा आप्रवासीको प्रवेशमा लगाम लगाउने पक्षमा छन्।
ट्रम्प र बोरिसका अनुदारवादी विचारमात्र एक अर्कासँग मिल्दैनन्, उनीहरूको व्यक्तित्व पनि मिल्छ।
दुबै सन्काहा स्वभावका छन्। राजनीतिलाई ‘ड्रामा’ मान्ने हो भने ट्रम्प र बोरिस दुबै त्यसका लागि फिट कलाकार हुन्।
बिना कुनै संकोच झुठ बोल्ने र अरुलाई होच्याउने उनीहरूको अर्को समानता हो।
अफ्रिकन र समलिङ्गी प्रति उनले गरेका टिप्पणीहरु बेलाबेलामा विवादमा आउने गरेका छन्। केनियन बाबुका छोरा पुर्व अमेरिकी राष्ट्रपती बराक ओबामाले केन्यासँगको आफ्नो रगतका नाताका कारण उनले ब्रिटेनलाई मन नपराउने टिप्पणी उनले गरेका थिए। केन्या कुनै समय बेलायतको उपनिवेश थियो।
५५ वर्षिय बोरिस पत्रकारीता हुँदै राजनीतिमा छिरेका हुन्।
लन्डनबाट प्रकाशित हुने द टाइम्सबाट उनले पत्रकारिता सुरू गरेका थिए। आफैंले बनाएर कसैको झुठो भनाइ छापेको आरोपमा टाइम्सले उनलाई जागिरबाट निकालेको थियो।
त्यसपछि उनी युरोपियन युनियनको राजधानी ब्रसेल्समा बसेर लन्डनबाट प्रकाशित हुने अनुदारवादी पत्रिका ‘द टेलिग्राफ’का लागि लेख्न थाले।
ब्रसेल्स बस्दादेखि नै उनले युरोपियन युनियनको विरोधमा लेख र समाचार लेख्ने गर्थे। उनले त्यतिखेर लेखेका लेख र समाचारमा तथ्यहरू तोडमोड गरिएको आरोप पनि लागेको छ।
युरोपियन युनियनका पुर्व आयुक्त तथा हककङका पुर्व गभर्नर क्रिस प्याटनले बोरिसलाई 'झुटो पत्रकारिताका सबैभन्दा ठुला प्रवर्तक’ भनेका छन्।
बेलायत फर्किएर उनी सन् १९९९ मा पहिलो पटक सांसद बने। सन् २००८ मा लन्डनको मेयर चुनिए। दुई कार्यकाल लन्डनको मेयर भएपछि उनी फेरि संसद फर्किए।
लन्डनको मेयर हुँदा उनले दिएको एउटा अन्तर्वार्ता रोचक छ।
उनलाई ‘तपाई फेरि सांसद बन्ने हो?’ भनेर सोधिएको थियो। सो अन्तर्वार्ताभर उनले १७ पटक आफू अब कहिल्यै सांसद बन्न नजाने बताएका थिए। त्यसको केही महिनामै उनी मेयर हुँदाहुँदै सासंदमा उठे र जिते।
पूर्वप्रधानमन्त्री डेभिड क्यामरूनले बेलायत युरोपियन युनियनमा बस्ने वा नबस्नेबारे जनमतसंग्रह घोषणा गरेपछि बोरिसको भाग्यको ढोका खुल्यो।
उनले देशैभरि डुलेर युरोपियन युनियनबाट बेलायत अलग हुनु पर्ने पक्षमा प्रचार गरे।
बेलायतका शहरमा युरोपका पक्षमा भारी मत थियो तर ग्रामीण बेलायत आफूले बेलायतको सम्मृद्धिबाट यथेष्ट लाभ नपाएको भन्दै क्रुद्ध थियो।
जनमतसंग्रहको परिणामले देखायो- लन्डनलगायत ठूला शहरले युरोपियन युनियनका पक्षमा मत हाले। तर साना सहर र ग्रामीण भेगले युरोपबाट अलग्गिनु पर्ने पक्षमा मत दिए।
बेलायती राजनीतिको केन्द्रमा बोरिसको उदय भयो। क्यामरूनले राजीनामा दिए। त्यसपछि कन्जरभेटिभ पार्टी प्रधानमन्त्रीका लागि भएको चुनावमा भने उनी थेरेसा मेसँग पराजित भए। क्यामरून मन्त्रिमन्डलमा गृहमन्त्री रहेकी मेलाई टोरी संस्थापनको साथ थियो।
जनमत संग्रहले युरोपियन युनियनबाट बेलायत बाहिरिनु पर्ने जुन म्यान्डेट दिएको थियो, त्यसको असली हकदार बोरिसनै थिए।
उनलाई नवनिर्वाचित प्रधानमन्त्री मेले नजरअन्दाज गर्न सकिनन्।
बोरिस मेको मन्त्रिमन्डलमा विदेश मन्त्री बने। दुई वर्षपछि गत साल समयपछि उनीसँग असहमति राख्दै राजीनामा दिए। अहिले उनी मेको उत्तराधिकारी बन्ने दौडमा अग्रपंक्तिमा छन्।
बोरिस प्रधानमन्त्री बनेपछि संसारका दुई शक्तिशाली लोकतान्त्रिक मुलुक अमेरिका र बेलायत अनुदारवादी नेतृत्वको हातमा हुनेछन्।
ट्रम्प र बोरिसबीच विचार र व्यक्तित्वको मात्र समानता छैन।
उनीहरु दुबै एउटै शहरमा जन्मिएका हुन्-अमेरिकाको न्युयोर्कमा।
यी दुबैको ‘हेयर स्टायल’ अलग प्रकारको छ। न ट्रम्प जस्तो ‘हेयर स्टायल’ कुनै अमेरिकी राजनीतिज्ञको छ, न बोरिसको जस्तो कुनै बेलायती राजनीतिज्ञको।
पहेँलो रङको गुजुमुजु र झ्याल्ले कपाल पालेका बोरिसको बेलायती राजनीतिमा हुने उदयले संसारभर अहिले चलेको अनुदारवादी हावालाई झनै तीव्र गति दिनेछ।