विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन नौ महिनादेखि व्यापार युद्धमा छन्।
एकअर्का देशबाट आउने सामानमा दुबै देशले लगाएको करले प्रत्यक्ष असर यी दुबै देशका अर्थतन्त्रलाई परेको छ, अप्रत्यक्ष रूपमा विश्व अर्थव्यवस्था पनि प्रभावित छ।
यहीबेला विश्वको छैठौं ठूलो अर्थतन्त्र भारत र अमेरिकाबीच पनि आफ्नै व्यापार युद्ध सुरू भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई गत जुन पहिलो साता भन्सार छुटको सहुलियत (जिएसपी) पाउने मुलुकको सूचीबाट हटाएका थिए।
अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नदिएको र भारत अब जिएसपी पाउने विकासोन्मुख मुलुक नरहेको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा कर लगाएका थियो।
त्यसको जवाफमा भारतले आइतबारदेखि लागु हुने गरी आलमोन्ड, स्याउलगायत २८ अमेरिकी सामानमा कर बढाएको छ।
अमेरिकाले अघि सारेको इन्डो एसिया प्यासेफिकको एउटा महत्वपूर्ण साझेदार भारतले आफूलाई जिएसपीको सूचीबाट हटाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण भएको बताउँदै राष्ट्रिय स्वार्थको रक्षा गर्ने बताएको छ।
भारतले अमेरिकालाई जिएसपीको सूचीबाट आफूलाई हटाउने निर्णय फिर्ता लिन अनुरोध गरेको थियो।
तर भारतीय अनुरोध अमेरिकाले लत्याइदिए पछि भारतले अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर बढाएको हो।
अमेरिका र भारतबीच गत वर्ष १४२.१ अर्ब डलरको व्यापार भएको थियो। त्यसमध्ये जिएसपी मुलुकको हैसियतमा भारतले ५.६ अर्ब डलरका सामान बिनाकर अमेरिका पठाएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले इरानसँग तेल किन्ने र रूससँग एस-४०० एन्टी एयरक्राफ्ट मिसाइल किन्ने सम्झौता अघि बढाए भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।
यही महिनाको अन्त्यतिर नयाँ दिल्ली आउन लागेका अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको भ्रमण र जापानमा जी-२० मुलुकको सम्मेलनका क्रममा हुन सक्ने ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटअघि भारतले अमेरिकी सामानमा कर बढाएको हो।