प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीयारसँग छलफल गरेको छ।
सरकारले ल्याएको गुठी विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको भन्दै कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा गुठीसँग सम्बन्धित विज्ञसँग छलफल गरेको हो।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञ, गुठीयार प्रतिनिधि र सरोकारवालासँग बैठक बसेर गुठीसँग सम्बन्धित विषयहरुमा छलफल भएको जानकारी दिए। बैठकका सहभागीहरुले सरकारले ल्याएको विधेयक संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल भएको ठहर गरेको खाणले जानकारी दिए।
गुठी विधेयकलाई तुरुन्त फिर्ता लिन पनि कांग्रेसले माग गरेको छ। विधेयक फिर्ता गराउन गुठीयारहरु र यस सँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई कांग्रेस संसदीय दलले समर्थन गरेको छ भने संसदमा शसक्त ढंगले दवाव दिने बताएको छ।