सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी सामन्तवादको एउटा रूप भएको बताएका छन्।
उनले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीलाई एकै नजरले हेर्न नहुने पनि बताए।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार प्रवक्ता बाँस्कोटाले भने, ‘हामी सामन्तवादलाई मान्ने कि नमान्ने? सामन्तवादलाई अन्त्य गर्ने कुरा गुठी, कमलहरीसँग जोडिन्छ। जसले सामन्तवादको चरित्र प्रस्तुत गर्थे। त्यसलाई हामीले भत्काएर गणतन्त्रमा गइसकेका छौं।’
बाँस्कोटाले भूमिहीन किसानका समस्या समाधान गर्न पनि गुठी विधेयक ल्याएको बताएका छन्।
‘भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने?,’ उनले भने, ‘भ्यालीभित्रको कल्चरल कुरा एक खालको छ भ्याली बाहिरको गुठीसँग सम्बन्धित कुरा अर्कै खालको छ।’
उनले निजी गुठी पनि रहेको उल्लेख गरे।
‘निजी गुठी पनि छ। पलाञ्चोक भगवतीको जग्गा त्यहाँका २७ सय परिवारले प्रयोग गरेका छन्। व्यक्तिकै नाममा छ,’ उनले भने, ‘त्यो जग्गा राखेर ऋण झिक्न, घर बनाउन गाह्रो छ।’
उनले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएकोबारे आमसभा नै गरेर सरोकारवालासँग छलफल गर्न जरुरी नरहेको बताए।
‘केही इरर रहेछ भने छलफल गर्न सक्छौं,’ उनले भने, ‘सरोकारवालासँग देशैभर छरिनु भएको छ। आमसभा गरेरै सुझाव लिनुपर्ने माग पनि हुन्छ।’
उनले मिडिया काउन्सिल विधेयकबारे इगोको रूपमा लिइएको बताए।
सरकारले दर्ता गरेको हुनाले फिर्ता गर्नुपर्छ भन्ने इगोको रूपमा लिइएको उनको भनाइ छ।
विधेयक दर्ता हुनुपर्व नै आन्दोलन घोषणा गरिएकोले त्यो सरकारविरूद्ध भएको उनले दाबी गरे।