दाङको देउखुरी जिल्ला अदालतले महिलामाथि एसिड प्रहार गर्ने एक जना व्यक्तिलाई चार वर्ष कैद, एक लाख जरिवाना र पीडितलाई एक लाख ४५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ।
न्यायाधीश हेमन्त रावलको इजलासले आरोपी बद्रिविशाल मिश्रलाई दोषी ठहर गर्दै सोमबार उक्त फैसला सुनाएको हो।
चार वर्ष अगाडि २०७२ फागुन २७ गते साँझ पसलमै बसिरहेको समयमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ वर्षीया रिता चौधरीमाथि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ निवासी ३७ वर्षीय मिश्रले एसिड प्रहार गरेका थिए।
एसिड प्रहारबाट चौधरीको छाती र घाँटीको भाग जलेको थियो।
अदालतले जरिवाना स्वरूपको एक लाख रुपैयाँ पीडितलाई नै उपलब्ध गराउन आदेश दिएको स्रेस्तेदार धनीप्रसाद चापाईंले बताएका छन् ।
त्यसैगरी घटनाका अन्य आरोपितहरू घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरी निर्दोष रहेको भन्दै अदालतले सफाइ दिएको छ ।