नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले राम्रो तयारी नगरी विधेयकहरू ल्याएकोले विरोध भएको बताएका छन्।
गृह जिल्ला चितवनमा बुधबार पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले मिडिया काउन्सिल विधेयक, गुठी विधेयक परिमार्जन हुने बताए।
सरकारले ल्याएका विधेयकको विरोध भइराखेका छन्, सरकारले विधेयक ल्याउन नजानेको कि नागरिकले नबुझेको? भन्ने प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने, ‘तयारी राम्रो नपुगेको। जति गृहकार्य भएर विधेयक आउनु पर्ने हो त्यसमा केही कमीकमजोरी भए। सरकार र पार्टी यसमा सतर्क भएको छ।’
आउने दिनमा विधेयकमाथि पर्याप्त छलफल गरी सहमतिबाटै अघि बढ्ने उनको भनाइ छ। ‘मिडिया काउन्सिल र गुठी विधेयकलाई आवश्यक परिमार्जन गरेरै अघि बढाउनुपर्छ,’ दाहालले भने।
लोक सेवाले स्थानीय तहका लागि गरेको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्केपछि निष्कर्षमा पुग्ने उनले बताए।
धुर्मुस सुन्तली फाउन्डेसनले भरतमा बनाइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणका लागि सरकारले पनि सहयोग गर्ने उनको भनाइ छ। चन्दाबाट मात्रै रंगशाला बन्ने अवस्था नदेखिएकोले सरकारले प्रोत्साहन गर्ने नीतिगत निर्णय भइसकेको दाहालले बताए।