मंगलबार प्रतिनिधिसभा संसदमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले बोल्ने समय लिए।
सभामुखको भूमिकामा रहेकी सांसद राधा ज्ञवालीले समय दिएपछि रोष्टम पुगेका सांसद रावलले सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक विकास कार्यक्रमबारे बोल्न चाहेको बताए।
‘सभामुख महोदय, सहरी विकास मन्त्रालय अन्तर्गतको वार्षिक विकास कार्यक्रमको बारेमा बोल्न चाहन्छु,’ यति भनेर उनी मौन रहे।
सभामुखले भनिन्, ‘माननीय ज्यु के भयो?’
जवाफमा उनले भने, ‘माननीय ज्यू केही नभएकोले नबोलेको।’
त्यसपछि उनी फेरि मौन रहे। घडी हेरे।
‘त्यसरी समयको सदुपयोग भएन कि?’ सभामुखले यति भनेपछि सांसद रावलले थपे, ‘पुस्तकमा नअटेको हुनाले सभामुख महोदय…।’ यसबीचमा सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरू खासखुस गरिराखेका थिए।
सभामुखले भनिन्, ‘माननीयको सांकेतिक विरोध भइसक्यो। अब माननीयले समय लिनुहोस् म अनुरोध गर्न चाहन्छु।’
जवाफमा सांसद रावलले भने, ‘केही भए पो बोल्नु।’ उनले फेरि घडी हेरे।
‘सम्माननीय सभामुख महोदय, मै खाउँ मै लाउँ सुखसयल मै गरुँ। मै बाँचु मै हाँसु, अरु सबै मरुन् दुर्बलहरू। मजस्ताहरू।’
बैठक सकिएपछि सेतोपाटीले सांसद रावललाई संसदमा किन बोल्नुभएन? भनेर सोध्यो।
जवाफमा उनले भने, ‘मेरो निर्वाचन क्षेत्रमा गत वर्ष पनि बजेट परेन अहिले पनि परेन।’
रावल कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
सहरी विकास मन्त्रालयले आफ्नो क्षेत्रमा बजेट नपारेकोले संसदमै विरोध गरेको उनले बताए।
‘मुक्तकमैया, वादी समुदाय मेरै क्षेत्रमा धेरै छन् त्यही बजेट छैन,’ उनले भने, ‘बाढी र आगलागीले बेलाबेला दु:ख दिइरहन्छ।’
बजेट विभेदकारी र मन्त्री केन्द्रित भएको उनको आरोप छ।
‘सहरी विकास मन्त्रालयको वार्षिक कार्यक्रम विभेदकारी असमान र मन्त्री केन्द्रित रहेकोले विरोध गरेको हुँ,’ उनले सेतोपाटीसँग भने, ‘बजेट मन्त्री केन्द्रित र असन्तुलित छ।’
उनले नीति तथा कार्यक्रमबारे धारणा राख्दा आफूले खुलेरै प्रशंसा गरेको पनि बताए।
‘सहरी विकासको लक्षित क्षेत्र मेरै निर्वाचन क्षेत्र हुनुपर्ने हो,’ उनले भने, ‘बजेट नै पर्दैन। अति भयो अब त सीमा नाध्यो।’
आफूलाई दिएको ६ मिनेटमध्ये २ मिनेट बोलेर ४ मिनेट रोष्टममै मौन रहेको उनले बताए।